ओडिशा, भारत – भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा होस्टल कोठामा मृत अवस्थामा फेला परेकी छन्। मृतक छात्रा वीरगञ्जकी प्रथम वर्षकी प्रिसा शाह रहेको भारतीय सञ्चारमाध्यम हरुले जनाएको छ।
उनी बिहीबार साँझ होस्टल कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन। घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि विश्वविद्यालय प्रशासनले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। घटनाबारे स्थानीय प्रहरी आयुक्त एस. देवदत्त सिंहलाई जानकारी दिइसकेको जनाइएको छ।
भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु, विद्यार्थी असुरक्षित महसुस
ओडिसाको केआइआइटी कलेजमा नेपाली छात्रामाथि मानसिक यातना, भारतीय युवक पक्राउ
प्रकृति मृत्यु प्रकरण : कलिंगा विश्वविद्यालयका ३ निर्देशकसहित ६ जना पक्राउ
किट युनिभर्सिटीकी होस्टेल स्टाफद्वारा नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी
यो घटनाले दुई महिनाअघि त्यही विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी अर्की नेपाली छात्रा प्रकृति लम्सालको स्मरण गराएको छ। लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूले मानसिक दुर्व्यवहार, जातीय भेदभाव र ब्ल्याकमेलको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले ती गुनासोहरू बेवास्ता गरेको भन्दै व्यापक आलोचना भएको थियो।
विरोधपछि केही नेपाली विद्यार्थीहरूलाई बलजफ्ती गाडीमा हालेर रेलवे स्टेशन पुर्याइएको घटनाले झनै विवाद चुलिएको थियो।
यसपटकको घटनाले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा नेपाली विद्यार्थीहरूलाई लक्षित गरिएका दुर्व्यवहार, मानसिक तनाव र कमजोर सुरक्षा व्यवस्थाबारे फेरि बहस चर्किएको छ।
अब नेपाली सरकार र सम्बन्धित निकायहरूले घटनाको गम्भीर छानबिन गर्दै भारतीय पक्षसँग स्पष्ट जवाफ माग्नुपर्ने आवाज उठ्न थालेको छ। साथै, भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल ठोस कदम चालिनुपर्ने माग समेत गरिएको छ।










