नेपालगञ्ज–पोखरा सिधा उडान एक महिनाका लागि स्थगित

नेपालगन्ज पोष्ट: करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको Buddha Air को नेपालगञ्ज–पोखरा सिधा हवाई उडान सेवा केही समयका लागि स्थगित गरिएको छ। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु तथा इन्धन खर्च अत्यधिक बढ्नुका कारण उडान सेवा एक महिनाका लागि रोकिएको बुद्ध एयर नेपालगञ्ज स्टेशनले जनाएको हो।

 

बुद्ध एयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहका अनुसार मलमासका कारण भारतबाट आउने पर्यटकको चाप न्यून भएको छ भने इन्धन मूल्य वृद्धि हुँदा सञ्चालन खर्च बढेकाले उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको हो। उनका अनुसार नेपालगञ्ज–पोखरा उडान मङ्गलबारदेखि बन्द गरिएको छ।

 

पर्यटन प्रवर्द्धन तथा भारतीय पर्यटकलाई सहज यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा सिधा उडान सञ्चालन हुँदै आएको थियो। उक्त सेवा Association of Tours and Travel Agents Nepal (NATTA) नेपालगञ्जको पहलमा सुरु गरिएको थियो।

 

उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी तथा सर्वसाधारण निराश बनेका छन्। अब यात्रुले फेरि सडकमार्गबाट करिब १४ घण्टा लामो यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सिधा हवाई उडानमार्फत यात्रु केवल ३५ मिनेटमै पोखरा पुग्ने सुविधा पाउँदै आएका थिए।

 

नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित तालिकाअनुसारको उडान रोकेको आधिकारिक जानकारी दिएको उल्लेख गर्दै सेवा पुनः सञ्चालनबारे अन्योल रहेको बताए। उनले सरकारले आवश्यक पहल गर्न नसक्दा निजी क्षेत्रको प्रयासबाट सुरु भएको सेवा बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरे।

 

बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा सञ्चालन गर्दै आएको थियो। उडान सञ्चालनमा आएपछि पोखराबाट नेपालगञ्ज हुँदै Bardiya National Park, कर्णाली चिसापानी तथा Rara Lake जस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो। साथै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि पोखरा आवतजावत गर्न सुविधा पुगेको थियो।

 

उडान सुरु हुँदा न्यूनतम भाडा रु ४ हजार ९३५ देखि अधिकतम रु ७ हजार ६३५ सम्म निर्धारण गरिएको थियो। यात्रुको चाप बढे दैनिक उडान सञ्चालन गर्ने योजना समेत बनाइएको भए पनि पछिल्लो समय इन्धन मूल्यवृद्धिपछि भाडादर बढ्दा यात्रुको सङ्ख्या घटेको र त्यसकै असरस्वरूप उडान स्थगित गर्नुपरेको बुद्ध एयरले जनाएको छ।

error: Content is protected !!