ओडिसा, भारत – ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालमाथि मानसिक यातना दिएको आरोपमा सोही कलेजका एक भारतीय युवक पक्राउ परेका छन्।
Advertisement 1

प्राप्त जानकारीअनुसार, मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय ती युवकले प्रकृतिलाई ब्ल्याकमेल तथा मानसिक रूपमा सताएको आरोप लागेको छ। उनलाई हाल न्यायिक हिरासतमा राखिएको छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु, विद्यार्थी असुरक्षित महसुस
Advertisement 2
शनिवार साँझ बी-टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टलको कोठाभित्रै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनले लामो समयदेखि मानसिक तनाव झेलिरहेकी थिइन् भन्ने खुलेको छ।
Advertisement 3
भुवनेश्वर-कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहका अनुसार, घटनासँग सम्बन्धित प्रमाण सङ्कलनका लागि प्रकृतिको मोबाइल फोन तथा अन्य निजी सामान नियन्त्रणमा लिइएको छ। मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा पठाइएको छ, जसको रिपोर्ट आएपछि थप तथ्यहरू खुल्ने अपेक्षा गरिएको छ।
यो घटनापछि केआइआइटी कलेजका नेपाली तथा भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शन चर्किएपछि कलेज प्रशासनले सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ।
तर, विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका बेला कलेज प्रशासनले उनीहरूलाई जबरजस्ती होस्टलबाट बाहिर निकालेको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब ५०० विद्यार्थीहरूलाई होस्टलबाट निकालेर स्कुलका दुईवटा बसमार्फत कट्टक रेल्वे स्टेसन पुर्याइएको थियो।
यो घटनापछि दिल्लीस्थित नेपाली दूतावासले चासो व्यक्त गरेको छ। दूतावासको समन्वयपछि कलेज प्रशासन विद्यार्थीहरूलाई पुनः होस्टल फर्काउन सहमत भएको छ, तर त्यसबेलासम्म धेरै विद्यार्थीहरू गाडी र ट्रेनमार्फत घर फर्किसकेका थिए।
प्रकृतिमाथि मानसिक यातना दिएको आरोपमा भुवनेश्वरको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फर्स्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता गरिएको छ। उजुरी प्रकृतिका एक आफन्तको तर्फबाट दर्ता गरिएको थियो, जसमा भारतीय युवकले ब्ल्याकमेल गरेको उल्लेख छ।
प्रहरीले यो मुद्दालाई भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तर्गत अनुसन्धान गरिरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक एउटा अडियोमा ती युवकले प्रकृतिलाई अपशब्द तथा भद्दा गालीगलौज गरेको सुनिन्छ, तर यसको स्वतन्त्र पुष्टि भइसकेको छैन।
प्रकृतिको निधनको घटना गम्भीर रहेको भन्दै विद्यार्थी तथा नेपाली समुदायले दोषीलाई कडा कारबाही गर्न माग गरिरहेका छन्। भारतीय प्रहरी तथा नेपाली दूतावासले घटनाको थप अनुसन्धान गरिरहेको छ भने न्यायको पक्षमा सामाजिक सञ्जालमा #JusticeForPrakritiLamsal जस्ता अभियानहरू चलेका छन्।










प्रतिक्रिया