काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा एक हृदयविदारक घटना घटेको छ। सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ उपनामले परिचित ४२ वर्षीय कुमार थापाले आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको निर्ममतापूर्वक हत्या गरेका छन्।
शुक्रबार राति करिब १०:१० बजेको समयमा घरायसी विवाद चर्किएपछि थापाले फलामको रड र धारिलो हतियार प्रयोग गरी श्रीमती भुजेलमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि तत्काल त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुर्याइएको भए पनि उपचारकै क्रममा उनको दुखद निधन भएको छ।
प्राप्त जानकारी अनुसार, थापा र भुजेलबीच कानुनी रूपमा सम्बन्धविच्छेद (डिभोर्स) हुने प्रक्रियाको यो अन्तिम दिन थियो। सम्बन्ध टुङ्गिने अन्तिम चरणमा पुगेका बेला भएको यो जघन्य अपराधले स्थानीयबासी र आम नागरिकलाई स्तब्ध बनाएको छ।
घटना लगत्तै प्रहरी वृत्त बालाजुको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ। यद्यपि, मृतक भुजेलले घटना हुनुपूर्व नै आफ्नो सुरक्षाका लागि पटक–पटक प्रहरीमा उजुरी दिएको भए तापनि सुनुवाइ नभएको छिमेकी र परिवारजनको आरोप छ। प्रहरीले पीडकको मनोबल बढाउने काम गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
नेपाली सेनामा कार्यरत एक राष्ट्रसेवक महिलाको आफ्नै घरभित्र असुरक्षित रहँदा ज्यान गुमाउनुपरेको घटनाले समाजमा घरेलु हिंसा र सुरक्षा संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।
हिंसा कहिल्यै पनि विवादको समाधान हुन सक्दैन। एक निर्दोष जीवनको यस्तो असामयिक र विभत्स अन्त्य हुनु अत्यन्त पीडादायी छ। दोषीमाथि कानुन बमोजिम कडा भन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग छ।
*मृतक ईश्वरी भुजेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।*
**नेपालगन्ज पोस्ट**










