काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल सरकारी टेलिभिजन च्यानल ‘एनटिभी प्लस’ (NTV Plus) बाट नि:शुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ। आज आइतबार राति १२:४५ बजे हुने अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त खेलप्रेमीहरूले नि:शुल्क हेर्न पाउने भएका हुन्।
Advertisement 1
सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वकपका अन्तिम दुई खेल नेपाल टेलिभिजनबाट नि:शुल्क प्रसारण हुने जानकारी दिएका थिए। सोहीअनुरूप आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्यान्ड र फ्रान्सबीच भएको खेल एनटिभी प्लसमा प्रत्यक्ष प्रसारण भइसकेको छ।
कसरी सम्भव भयो नि:शुल्क प्रसारण ?
यस वर्ष विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गर्ने फिफाको अधिकार ‘एस्प्रो मिडिया’ ले प्राप्त गरेको थियो। एस्प्रो मिडियाले टेलिभिजनतर्फ ‘हिमालयन स्पोर्ट्स’ (सब्स्क्रिप्सन शुल्क ९९९ रुपैयाँ) र ओटिटी/मोबाइलतर्फ ‘डिगो एप’ (मोबाइलमा ५०० र डेस्कटपमा १००० रुपैयाँ) मार्फत सशुल्क प्रसारण गर्दै आएको थियो।
Advertisement 2
सुरुवाती चरणदेखि नै विश्वकपका खेलहरू सरकारी च्यानलमार्फत नि:शुल्क देखाउनुपर्ने माग संसद्देखि सडकसम्म उठे पनि फिफाको बिडिङ प्रक्रियाका कारण नेपाल टेलिभिजनले सीधै प्रसारण गर्न पाएको थिएन। तर, पछिल्लो समय सरकारले गरेको विशेष अनुरोध र पहलका कारण यो सम्भव भएको सञ्चारमन्त्री तिमिल्सिनाले जानकारी दिए।
“सरकारी मिडियामार्फत फिफामा बिडिङ नगरिएकाले सुरुमा देखाउन सम्भव थिएन। तर आम नागरिकको मागलाई ध्यानमा राखेर सरकारले नेपालका लागि प्रसारण अधिकार पाएको एस्प्रो मिडियालाई अनुरोध गर्यो,” मन्त्री तिमिल्सिनाले भने, “सरकारको अनुरोधपछि एस्प्रो मिडिया र नेपाल टेलिभिजनबीच सहमति बन्यो र फिफाले आइतबार राति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न अनुमति दियो।”
Advertisement 3
एस्प्रो मिडिया र एनटिभीबीचको सम्झौता
यसबारे एस्प्रो मिडियाका सोम धितालले सरकारले सेमिफाइनल देखिकै खेलहरू नेपाल टेलिभिजनमा प्रसारण गर्न माग गरे पनि छलफलपछि अन्तिम दुई खेल मात्र प्रसारण गर्ने सहमति भएको बताए।
“सरकारले नै आग्रह गरेपछि हामीले सहमति जनाएका हौँ। छलफलबाट तेस्रो स्थान र फाइनल खेल मात्र प्रसारण गर्न दिने निर्णय भयो,” धितालले स्पष्ट पारे।
सहमति अनुसार खेलको बीच-बीचमा बज्ने विज्ञापन प्रसारण गरेबापत एस्प्रो मिडियाले नेपाल टेलिभिजनलाई २२ लाख रूपैयाँ तिर्नेछ। यस निर्णयसँगै आज राति हुने अर्जेन्टिना र स्पेनबीचको रोमाञ्चक फाइनल भिडन्त नेपाली दर्शकले विनाकुनै अतिरिक्त शुल्क एनटिभी प्लसमा हेर्न पाउनेछन्।











