नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा सञ्चालित विभिन्न स्पामा बालिकाहरूलाई गैरकानुनी रूपमा काममा लगाइएको सूचनाका आधारमा प्रहरीले अनुगमन तथा छापामारी गर्दा ७ जना बालिकाको उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना स्पा सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्जका विभिन्न स्पामा बालिकाहरूलाई काममा लगाइएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी चेकजाँच तथा अनुगमन गरिएको थियो। सो क्रममा विभिन्न स्पाबाट ७ जना बालिकालाई उद्धार गरिएको हो।
Advertisement 2
प्रहरीले बालिकाहरूलाई काममा लगाएको आरोपमा पक्राउ गरेका तीन जनामा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, ए.ए.स्थित आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारु र नेपालगञ्ज उपमहानगरपालिका–२ न्यूरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।
Advertisement 3

जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका तीनै जनामाथि बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको उल्लेख छ।
प्रहरीका अनुसार उद्धार गरिएका बालिकाहरूलाई सुरक्षित रूपमा संरक्षण तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। बालबालिकालाई गैरकानुनी वा जोखिमपूर्ण काममा लगाउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बालबालिकाको अधिकार र सुरक्षाको विषयमा प्रहरी गम्भीर रहेको बताएका छन्। उनले बालबालिकालाई कानुनविपरीत काममा लगाउने तथा उनीहरूको अधिकार हनन गर्ने गतिविधिविरुद्ध कानुनी कारबाही जारी रहने जानकारी दिएका छन्।
प्रहरीले नेपालगञ्जमा सञ्चालित स्पा तथा अन्य व्यवसायहरूमा बालबालिकालाई गैरकानुनी रूपमा काममा लगाइएको पाइएमा तत्काल जानकारी गराउन आग्रहसमेत गरेको छ।











