नेपालगञ्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २२ जना सम्पर्कविहीन भएका छन्।
Advertisement 1
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सम्पर्कविहीन हुनेमा १२ जना पुरुष र १० जना महिला रहेका छन्। उनीहरूमध्ये २ जना भारतीय नागरिक, १६ जना बाँकेका स्थायी बासिन्दा र ४ जना अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिएका छन्।
Advertisement 2
बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरू सम्पर्कविहीन भएको जनाइएको हो। सम्पर्कविहीन भएका सबैको अवस्था यकिन गर्न तथा खोजी कार्यलाई प्रभावकारी बनाउन विवरण संकलन र समन्वयको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए।
Advertisement 3
भोटेकोशी नदीमा आएको आकस्मिक तथा शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्। सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित परिवार तथा प्रशासनिक निकायबीच समन्वय भइरहेको छ।










