बाँके । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि बाँकेको जानकी गाउँपालिकाले १ लाख १ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट समेत थप सहयोग जुटाउने निर्णय गरेको छ ।
Advertisement 1
गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले भोटेकोशी बाढीपहिरोमा परी ज्यान गुमाएका, बेपत्ता तथा घाइते भएका नागरिकको खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा सहयोग गर्ने निर्णय गरेको हो ।
Advertisement 2
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट तत्काल १ लाख १ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।
Advertisement 3
यसैगरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यले पाउने मासिक सुविधाको सात दिन बराबरको रकम विपद् राहतका लागि सहयोग गर्ने भएका छन् । वडा सदस्यहरूले भने आफ्नो मासिक सुविधाको तीन दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ ।
गाउँपालिकाबाट तलबभत्ता खाने स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक कर्मचारीबाट पनि तहअनुसार सहयोग रकम उपलब्ध गराइने भएको छ ।
निर्णयअनुसार अधिकृतस्तरका कर्मचारीले सात दिन, सहायकस्तरका कर्मचारीले पाँच दिन र कार्यालय सहयोगीस्तरका कर्मचारीले तीन दिन बराबरको तलब विपद् राहतका लागि सहयोग गर्नेछन् ।
गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहको कोषसँगै जनप्रतिनिधि तथा कर्मचारीबाट समेत सहयोग जुटाउने निर्णय गरेको जनाएको छ ।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय सरकार, जनप्रतिनिधि र कर्मचारीले समेत आफ्नो सुविधाबाट सहयोग गर्ने निर्णयले विपद्मा प्रभावित नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारी र मानवीय सहयोगको भावना देखाएको छ ।
जानकी गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, उक्त सहयोग बाढीपीडितको राहत तथा उद्धार कार्यमा परिचालन गरिनेछ ।










