नेपालगञ्ज, असार १५ । नेपाली पप तथा आधुनिक संगीतका चर्चित गायक सुनिल सिंह ठकुरी ले बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बी गाउँस्थित विबोरिङ क्षेत्रमा रहेको ‘१६ घरे आवास’ मा बसोबास गर्ने बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ।
Advertisement 1
हाल आफ्नो सांगीतिक करियरका लागि जापानमा बसोबास गर्दै आएका ठकुरी केही समयका लागि घर फर्किएको अवसरमा स्थानीय बालबालिकासँग भेटघाट गर्नुभएको थियो। सो क्रममा बालबालिकाले आफूहरूलाई भलिबल खेल्न मन पर्ने तर आवश्यक सामग्रीको अभाव रहेको र अध्ययनका लागि कापी तथा कलम पनि आवश्यक रहेको बताएपछि उहाँले तत्काल एक थान भलिबल सेट तथा कापी र कलम सहयोग गर्नुभएको हो।
Advertisement 2

खजुरा गाउँपालिका वडा नं. ३ ए गाउँ–२६ निवासी ठकुरीले सहयोगपछि बालबालिकाको खुसीसँगै अभिभावकहरूको आशीर्वाद पाउँदा आफू अत्यन्त भावुक र सन्तुष्ट भएको बताउनुभयो।
Advertisement 3


उहाँले भन्नुभयो, “जीवनमा सबैबाट लिने मात्र होइन, आफूले कमाएको आम्दानीबाट थोरै भए पनि गरिब, असहाय र दिनदुःखीलाई सहयोग गर्नुपर्छ। यही नै जीवनको साँचो खुसी हो।”
नेपाल सरकारले सरकारी जग्गामा निर्माण गरेको उक्त १६ घरको बस्ती स्थानीय रूपमा ‘१६ घरे आवास’ का नामले परिचित छ। त्यहाँ आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरू बसोबास गर्दै आएका छन्।
गायक ठकुरीले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ। जाजरकोट भूकम्पका पीडितका लागि राहत सहयोग गर्नुका साथै क्यान्सरबाट पीडित रहेका पश्चिम नेपालका लोकप्रिय लोकगायक तथा आरजे कमल विके ‘निर्मोही’को उपचारका लागि आर्थिक सहयोग गर्नुभएको थियो।
उहाँले भविष्यमा अझ ठूलो स्तरमा सामाजिक सेवा गर्ने र विशेषगरी आफ्नो जन्मभूमि बाँके तथा नेपालगञ्ज क्षेत्रमा रहेका गरिब तथा विपन्न समुदायलाई सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको छ। साथै संगीत क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ प्रतिभालाई पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
बाल्यकालदेखि नै संगीतप्रति गहिरो रुचि राख्ने सुनिल सिंह ठकुरी विद्यालय जीवनदेखि नै चर्चित गायकहरूको गीत गाउँदै आफ्नो प्रतिभा निखार्दै आउनुभएको थियो। परिवार र साथीभाइको प्रोत्साहनपछि उहाँले व्यावसायिक रूपमा संगीत क्षेत्रमा प्रवेश गर्नुभएको हो।
प्रेम, बिछोड, भावनात्मक अनुभूति र आधुनिक पप शैलीका गीतमार्फत उहाँले नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। हालसम्म उहाँले १०० भन्दा बढी गीतमा आफ्नो स्वर दिइसक्नुभएको छ।
उहाँका चर्चित गीतहरूमा ‘भुली भुली देऊ’, ‘मुटुमा तिमीलाई’, ‘बाचा तोड्यौ तिमीले’, ‘घटना घट्यो’, ‘सिमाहीन छ मायाको बाटो’, ‘घरी घरी माया’, ‘खुट्टा तान्दै गर’, ‘हेरी खाऊ केरा’, ‘घन्टा जस्तो लभ (ब्रेकअप पार्टी)’, ‘जनता जान्न चाहन्छन्’, ‘दिमाग खाली’ तथा जापानी भाषाको गीत ‘नागोया’ रहेका छन्।
‘भुली भुली देऊ’ गीतबाट उहाँ १०औँ टुबोर्ग इमेज अवार्ड मा नयाँ गायक विधामा मनोनयन हुनुभएको थियो। त्यस्तै जापानी भाषाको गीत ‘नागोया’ सार्वजनिक गरेपछि उहाँलाई जापानमा सम्मान गरिएको थियो भने जापानको चर्चित टेलिभिजन एनएसके (NSK) ले समेत उहाँसँग विशेष अन्तर्वार्ता लिएको थियो।
संगीतसँगै समाजसेवालाई पनि निरन्तरता दिँदै आएका गायक सुनिल सिंह ठकुरीको पछिल्लो सहयोगले स्थानीय बालबालिका र अभिभावकमा खुसी छाएको छ। उहाँको यो मानवीय कार्यले कलाकारको भूमिका केवल मनोरञ्जनमा सीमित नभई समाजप्रतिको उत्तरदायित्वमा पनि उत्तिकै महत्वपूर्ण हुने सन्देश दिएको छ।









