खजुराको किरण नालामा चार लेनको आधुनिक पुल निर्माण सुरु

 

खजुरा : बाँके  जिल्लाको खजुरास्थित किरण नालामा नयाँ चार लेनको पुल निर्माण कार्य सुरु गरिएको छ। नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत खजुरा गाउँपालिका र जानकी गाउँपालिकाको सीमामा पर्ने उक्त स्थानमा यसअघि रहेको दुई लेनको पुरानो पुललाई प्रतिस्थापन गर्दै आधुनिक संरचना निर्माण थालिएको हो।

 

चार लेनको सडक विस्तार भइसकेपछि पनि पुल भने दुई लेनकै साँघुरो रहेकाले उक्त क्षेत्रमा सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाका घटनासमेत बढ्दै गएका थिए। यही अवस्थालाई मध्यनजर गर्दै नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

 

प्रारम्भिक विवरणअनुसार करिब ४ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण कार्य सुरु गरिएको हो। योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार नयाँ संरचना तयार भएसँगै चार लेन सडकमा सवारी साधन सञ्चालन थप सहज र सुरक्षित हुने विश्वास गरिएको छ।

 

यसैबीच, बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा पनि यस्तै चार लेनको पुल निर्माण गर्ने योजना अघि बढाइएको जानकारी दिइएको छ। स्थानीय तह तथा सरोकारवाला निकायले यस्ता पूर्वाधार विकासले क्षेत्रीय यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

 

error: Content is protected !!