नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा भएको विशाल चन्द ठकुरी हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको २४ घण्टा नबित्दै आरोपितहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वैशाख २२ गते राति आयोजित एक ब्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका युवाहरुबीच सामान्य विवाद भएको थियो । विवाद बढ्दै जाँदा विशाल चन्द ठकुरीमाथि बियरका बोतल, फुटेका सिसा र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणपछि घाइते भएका विशाल चन्द ठकुरीको उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका व्यक्तिहरुको खोजीका क्रममा बाँके प्रहरीको टोलीले ४ जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट तथा २ जनालाई नेपालगञ्जबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा कैलाली लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन्द्र राज गिरी, २० वर्षीय बिबियस कुँवर, १८ वर्षीय सुशिल खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालिकोट पचालझरना गाउँपालिका–६ का १८ वर्षीय सन्तोष संज्याल र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय रुपेश थापा रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएको १ थान चक्कु, सु.प.प्र. ०१–०१४ प १२५६ नम्बरको NS 200 मोटरसाइकल तथा बियरका बोतल र फुटेका सिसाका टुक्राहरु समेत बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।













