नेपालगन्ज यातायात कार्यालयमा १० बिचौलिया पक्राउ, सेवाग्राही ठगी गर्ने गिरोहमाथि कारबाही

नेपालगन्ज — सेवाग्राहीलाई झन्झटमा पार्दै अतिरिक्त रकम असुल्ने बिचौलिया प्रवृत्तिविरुद्ध प्रशासनले कडा कदम चालेको छ। नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

 

लामो समयदेखि लाइसेन्स, सवारी दर्ता तथा नवीकरणजस्ता सेवामा “छिटो काम गरिदिन्छु” भन्दै सर्वसाधारणबाट रकम असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढ्दै आएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो। सोही क्रममा सेवाग्राहीलाई फकाएर पैसा लिँदै गरेको अवस्थामा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सरकारी प्रक्रियालाई दुरुपयोग गर्दै सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने र त्यसकै आडमा रकम असुल्ने गरेका थिए। यस किसिमको गतिविधिले सेवाप्रवाहमा अवरोध सिर्जना गर्नुका साथै राज्यप्रति नागरिकको विश्वासमा समेत असर पारिरहेको थियो।

 

स्थानीयबासीले यस कारबाहीलाई सकारात्मक कदमका रूपमा लिँदै यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन्। सम्बन्धित निकायले पनि यातायात कार्यालयलाई बिचौलियामुक्त बनाउँदै सेवाप्रवाहलाई पारदर्शी, छिटो र सहज बनाउने प्रतिबद्धता जनाएको छ।

 

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ भने यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

 

error: Content is protected !!