नेपालगन्ज : गृहमन्त्री सुदन गुरुङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका उनले करिब २६ दिनमै पद त्याग गरेका हुन्। बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजीनामा बुझाएका छन्।
Advertisement 1
पछिल्लो समय सेयरसम्बन्धी विवादमा मुछिएपछि गुरुङमाथि चौतर्फी दबाब बढ्दै गएको थियो। विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनले नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्।
Advertisement 2
राजीनामापछि गुरुङले जारी गरेको वक्तव्यमा आफूविरुद्ध उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्। पदमा रहँदा कुनै प्रकारको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको हुँ,” उनले उल्लेख गरेका छन्।
Advertisement 3
उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको बताउँदै सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरेका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो। जनविश्वासभन्दा ठूलो शक्ति केही हुँदैन,” उनले भने।
गुरुङले पछिल्लो समय युवापुस्ताबाट उठिरहेको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सकारात्मक रूपमा लिँदै नेतृत्वले नैतिक साहस देखाउनुपर्ने बताए। साथै, सञ्चारमाध्यमप्रति संकेत गर्दै केही मिडियाकर्मीहरूको ‘स्वीट शेयर’ सम्बन्धी विषय पनि क्रमशः बाहिर आउने टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार गुरुङको राजीनामापछि हाल गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहकै मातहतमा रहनेछ।
गुरुङको राजीनामासँगै अब सम्बन्धित निकायमार्फत उक्त विवादबारे छानबिन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया