नेपालगन्ज : नयाँ नेपाली चलचित्र “मुक्तिपुर” को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। बसुन्धरा स्थित इन्द्रेणी मन्दिरमा शुभ–मुहूर्त गर्दै फिल्मको सुटिङ अघि बढाइएको हो।

सुनिल पाण्डेको निर्देशनमा बन्न लागेको यो चलचित्र साइबा फिल्म प्रोडक्सनको ब्यानरमा तयार हुँदैछ भने एभरेस्ट फिल्म एकेडेमीको सहकार्य रहेको छ। चलचित्रमा विजय राजवंशी र रोशन पासवान निर्माता रहेका छन्। विशाल श्रेष्ठ कार्यकारी निर्माता तथा केशव गौतम सह–निर्माताको रूपमा रहेका छन्। सञ्चय गुरुङ र सुरज चौधरी लाइन प्रोड्युसर रहेका छन् भने द्वन्द निर्देशन सौगात बस्नेतले सम्हालेका छन्। छायाङ्कन सरोज महत्त्वले गरिरहेका छन्।

प्राइम रिभेन्ज जनरामा निर्माण हुन लागेको “मुक्तिपुर” ले बदलाको कथालाई केन्द्रमा राख्नेछ। एक परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटनाहरू, त्यसबाट उत्पन्न परिस्थितिहरू र त्यसपछिको संघर्ष तथा सफलताको कथा फिल्ममा प्रस्तुत गरिने निर्देशक पाण्डेले जानकारी दिएका छन्।


फिल्ममा नाजिर हुसेन, गौरव पहाडी, एभोन राज उप्रेती, प्रकाश शाह र आकारिती बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहनेछ।
हाल फिल्मको छायाङ्कन टोली नेपालगञ्ज पुगेको छ र त्यहाँका विभिन्न स्थानहरूमा सुटिङ भइरहेको छ। नेपालगञ्ज आसपास यसअघि पनि कोहलपुर एक्सप्रेस, ग्याङ्स्टर ब्लुज, सिल्ली, राजा रानी, कानुन, कहाँ छौ कहाँ, माइतीघर र ढुवानी जस्ता चलचित्रहरूको छायाङ्कन भइसकेको छ।


स्थानीय स्तरमा निरन्तर रूपमा फिल्म छायाङ्कन हुनुले नेपालगञ्ज क्षेत्रलाई चलचित्र निर्माणका लागि आकर्षक गन्तव्यको रूपमा चिनाउन सहयोग पुगेको छ।













