नेपालगन्ज पोष्ट : आज राति नेपालभर खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म अवलोकन गर्न सकिने जानकारी नेपाल एष्ट्रोनोमिकल सोसाइटी ले दिएको छ। सोसाइटीका अनुसार उच्च स्थानबाट हेर्दा दृश्य अझ स्पष्ट र आकर्षक देखिनेछ। मौसम सफा रहे देशका सबै भागबाट चन्द्रग्रहण स्पष्ट रूपमा देख्न सकिने बताइएको छ। ग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण आवश्यक पर्दैन। घरको छत, खुला मैदान वा नजिकैको डाँडाबाट पनि सजिलै हेर्न सकिन्छ। सन् २०२६ मा विश्वभर दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण लाग्ने तालिका रहेको छ। तीमध्ये नेपालबाट प्रत्यक्ष रूपमा देख्न सकिने भने यही एकमात्र चन्द्रग्रहण हो। खगोलविद्हरूका अनुसार पृथ्वी सूर्यको परिक्रमा गरिरहेको हुन्छ भने चन्द्रमा पृथ्वीलाई घुमिरहेको हुन्छ। जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ, पृथ्वीको छायाँ चन्द्रमामा पर्छ। चन्द्रमाको आफ्नै प्रकाश नहुँदा सूर्यको प्रकाश आंशिक रूपमा रोकिएर चन्द्रमा केही भाग ढाकिएको देखिन्छ। यस अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। तर हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन। चन्द्रमाको कक्षा पृथ्वीको कक्षाभन्दा करिब ५ डिग्री झुकेको हुन्छ। त्यसैले सूर्य, पृथ्वी र चन्द्रमा सधैं एउटै सीधा रेखामा पर्दैनन्। चन्द्रमाको कक्षाले पृथ्वीको कक्षीय सतहलाई दुई स्थानमा काट्ने बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ। खगोलविद्हरूले आजको दृश्य अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। खुला आकाश भएमा यो खगोलीय घटना नजिकबाट अनुभव गर्ने राम्रो अवसर रहनेछ। Post navigation फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्रको टिमद्वारा प्रमोशनल भेटघाट नेपालगञ्जमा वैशाख ११–१३ सम्म ‘स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना हुने