सन्देश भुसाल, बाँके । डुडुवा गाउँपालिका–४ खालेमसाहमा नाबालिकामाथि जबरजस्ती करणी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार अनुसन्धान निष्पक्ष र कानुनी प्रक्रियाअनुसार भइरहेको छ।
Advertisement 1
प्रहरीका अनुसार मिति २०८२ पुस १७ गते बिहान करिब २ बजेको समयमा नाबालिकामाथि जबरजस्ती करणी भएको भन्ने विषयमा पुस २२ गते हुलाकमार्फत जाहेरी दरखास्त प्राप्त भएको थियो। उक्त जाहेरीमा पाँच जनाको समूहले अपहरण गरी जबरजस्ती करणी गरेको आरोप उल्लेख गरिएको थियो।
Advertisement 2
हुलाकमार्फत आएको जाहेरीको विश्वसनीयता परीक्षण गर्न कानुनी व्यवस्था अनुसार जाहेरवाला स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने भएकाले प्रहरी कार्यालयले उपस्थित हुन अनुरोध गरेको थियो। तर जाहेरवाला उपस्थित नभएपछि जाहेरी दर्ता नगरिएको भन्दै काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरिएको थियो।
Advertisement 3
यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै पीडित पक्षलाई जाहेरी सनाखतका लागि कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो। सोही अनुरोधअनुसार मिति २०८२ पुस २९ गते पीडित नाबालिका, अभियन्ता तथा सञ्चारकर्मीहरू प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
घटनाबारे सोधपुछका क्रममा पीडित नाबालिकाले प्रारम्भिक समयमा विभिन्न दबाब र प्रभावमा परेर झुट्टा विवरणसहितको जाहेरी हुलाकमार्फत पठाएको स्वीकार गरेकी छन्। उनले घटनामा पाँच जनाको संलग्नता नभई डुडुवा गाउँपालिका–४ निवासी अन्दाजी २६ वर्षका सद्दाम खाँ नामक व्यक्तिले मात्रै जबरजस्ती करणी गरेको भनी नयाँ जाहेरी दर्ता गराएकी हुन्।
उक्त जाहेरी दर्तापछि प्रतिवादी सद्दाम खाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले लखनऊबाट नेपालगञ्ज ल्याई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बाँके जिल्ला अदालतबाट भिडियो कन्फ्रेन्समार्फत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको र प्रतिवादी प्रहरीको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको प्रहरीको भनाइ छ।
यसैबीच, घटनासँग सम्बन्धित पीडित नाबालिकाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट तथा सेयर गरिएको पाइएकामा प्रहरीले गम्भीर ध्यानाकर्षण गराएको छ। नाबालिकाको तस्बिर सार्वजनिक गर्नु कानुनतः दण्डनीय कार्य भएकाले यस्ता कार्य नगर्न र नगराउन सबैलाई आग्रह गरिएको छ।










प्रतिक्रिया