Listen LIVE

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती ‘मोहम्मद डे’ बुधबार नेपालगञ्जसहित बाँकेका विभिन्न स्थानमा धार्मिक श्रद्धा, उत्साह र सद्भावका साथ मनाइएको छ।

Advertisement 1

 

मोहम्मद डेको अवसरमा नेपालगञ्जमा विशेष धार्मिक कार्यक्रमसहित मोहम्मदी जुलुस निकालिएको थियो। जामा मस्जिदबाट सुरु भएको जुलुस नेपालगञ्जका विभिन्न क्षेत्रको परिक्रमा गर्दै गौसिया मस्जिदमा पुगेर समापन भएको थियो। जुलुसमा मुस्लिम समुदायका बालबालिका, युवा तथा अगुवाहरू राष्ट्रिय झण्डा र मदिनाको झण्डासहित सहभागी भएका थिए।

Advertisement 2

 

यस वर्षको मोहम्मदी जुलुसमा गत वर्षजस्तो डिजे तथा ठूलो साउण्ड सिस्टमको प्रयोग गरिएको थिएन। धार्मिक मर्यादा कायम गर्दै शान्तिपूर्ण वातावरणमा पर्व मनाइएको नेपालगञ्जका पूर्व नगर उपप्रमुख समशुद्दिन सिद्दिकीले बताए। उनले आगामी दिनमा पनि मोहम्मद डे शान्तिपूर्ण र व्यवस्थित रूपमा मनाउनुपर्नेमा जोड दिए।

Advertisement 3

 

मोहम्मद डेको पूर्वसन्ध्यादेखि नै नेपालगञ्जका सडक, गल्ली, टोल, घर तथा मस्जिदहरू सजाइएको थियो। विभिन्न मस्जिदमा धार्मिक प्रवचन तथा अन्य कार्यक्रमसमेत आयोजना गरिएका थिए।

 

यस अवसरमा संघीय सांसद मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई हिन्दू–मुस्लिम समुदायबीचको सद्भावको नमुना सहरका रूपमा पुस्तौँसम्म चिनाउनुपर्ने बताएका छन्। उनले मोहम्मद जयन्तीले आपसी भाइचारा, सहकार्य र समझदारीलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

 

राईले धार्मिक पर्वलाई सामाजिक सद्भावसँगै वातावरण संरक्षणसँग जोड्दै नागरिक अगुवा तथा हरित अभियन्तासँगको सहकार्यमा वर र पीपलका बिरुवासमेत रोपेका छन्। धार्मिक पर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ थियो।

 

मोहम्मद जयन्तीको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि शुभकामना व्यक्त गरेका छन्। उनले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे।

 

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न धर्म, संस्कार, संस्कृति र परम्पराले नेपाली समाजलाई समृद्ध बनाएको बताएका छन्। प्रदेश सरकारले सबै धर्म, संस्कार र संस्कृतिलाई समान महत्व दिँदै धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र सम्मानलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

 

मुस्लिम समुदायका अनुसार हिजरी संवत्को तेस्रो महिना रविउल अव्वलको १२ तारिखका दिन पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने गरिन्छ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेका पैगम्बर मोहम्मदका शिक्षा र उपदेशलाई स्मरण गर्दै यो पर्व मनाउने परम्परा रहेको छ।

 

मोहम्मद जयन्तीका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकासहित जानकी, नरैनापुर र खजुरा गाउँपालिकाले स्थानीय बिदासमेत दिएका थिए।

 

नेपालगञ्जमा यस वर्षको मोहम्मद डे धार्मिक आस्था, शान्ति, सामाजिक सद्भाव, आपसी भाइचारा र वातावरण संरक्षणको सन्देशसहित मनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!