सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : डिजिटल माध्यममा सक्रिय सिर्जनशील व्यक्तिहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यसहित नेपालगन्जमा ‘दोस्रो कन्टेन्ट क्रिएटर मिटअप’ सफलतापूर्वक सम्पन्न भएको छ। “Connect. Create. Collaborate.” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले स्थानीय डिजिटल समुदायलाई थप सशक्त बनाउने प्रयास गरेको आयोजकले बताएका छन्।
Advertisement 1

‘मिट एण्ड ग्रिट’को आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन RGB निहालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रवि बस्नेत र मोहिनीले गर्नुभएको थियो। कार्यक्रम शनिबार नेपालगन्जको न्यूरोडस्थित होटल कल्पतरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको थियो।
Advertisement 2

कार्यक्रममा नेपालगन्जसहित कोहलपुर, खजुरा, नरैनापुर मात्र नभई बर्दिया र दाङ जिल्लाबाट समेत युट्युबर, भ्लगर, ब्लगर तथा सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ८ वर्षदेखि ६० वर्ष उमेर समूहका कुल ६९ जना कन्टेन्ट क्रिएटरहरू कार्यक्रममा सहभागी भएका थिए। केही अभिभावकहरू आफ्ना छोराछोरीको रुचिलाई समर्थन गर्दै स्वयं सहभागी हुनुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको देखिन्थ्यो।
Advertisement 3

मिटअपमा सहभागीहरूले एक–अर्कासँग परिचय आदानप्रदान गर्दै आफ्ना अनुभव साटासाट गरे। भविष्यमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भयो भने नेपालगन्जमा डिजिटल कन्टेन्ट निर्माणको अवस्था, चुनौती र अवसरबारे पनि विचार–विमर्श गरिएको थियो। साथै, brand deal, monetization र आगामी २४ जनवरीमा US Embassy द्वारा आयोजना हुन लागेको कार्यक्रममा सहभागिता गर्ने प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमलाई थप रोचक बनाउन सहभागीहरूले गीत, नृत्य, क्यारिकेचर लगायत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रम सफल बनाउन Yummy Bites को विशेष सहयोग रहेको थियो। सो अवसरमा success cake celebration समेत गरिएको थियो भने आगामी दिनमा उपस्थित सबै कन्टेन्ट क्रिएटरहरूको जन्मदिनमा निःशुल्क केक वितरण गर्ने घोषणा पनि गरिएको छ।

कार्यक्रममा विशेष रूपमा १५ वर्षभन्दा कम उमेरका कन्टेन्ट क्रिएटरहरूलाई लामो समयदेखि सहयोग र प्रोत्साहन गर्दै आउनु भएका Kohinoor Sir को योगदानको स्मरण गरिएको थियो।

मिडिया पार्टनरका रूपमा नेपालगञ्ज पोष्ट, नेपालगञ्ज टेलिभिजन, दैनिक नेपालगञ्ज र सत्यमखबर रहेका थिए भने सोसल मिडिया पार्टनरमा नेपालगञ्ज ग्यालरी र कोहलपुर ग्यालरी रहेका थिए। सहभागीहरूले सामाजिक सञ्जालमा #connectNepalgunj ह्यासट्याग प्रयोग गर्दै कार्यक्रमका तस्बिर र गतिविधि साझा गरेका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमले मोफसलमा रहेका डिजिटल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय डिजिटल ट्यालेन्टलाई अझ सशक्त बनाउने योजना रहेको आयोजकले बताएका छन्।










प्रतिक्रिया