नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव सांगीतिक र साँस्कृतिक माहोलले भरिएको छ। बुधबार साँझ महोत्सवको अन्तिम कलाकारको रूपमा गायक चक्र बम मञ्चमा थिए। आधा दर्जन गीत प्रस्तुत गरिसकेपछि जब उनले चर्चित देउडा गीत “भन् साली तेरी दिदी काँ छ…” गाउन थाले, महोत्सव स्थल नाचगानले गुञ्जायमान बन्यो।
Advertisement 1

मञ्चमा रहेका गायिका भूमिका गिरी, उद्घोषक शोभा त्रिपाठी, ओविराज आचार्य, समीरमान श्रेष्ठको समूह नाच्न थाल्यो। त्यस्तै, सांस्कृतिक उपसमितिका सदस्यहरूले अर्को समूह बनाएर नृत्य गरे। अतिथि बस्ने स्थलमा आयोजक समूहले आफ्नै शैलीमा देउडाको ताल समात्यो।
Advertisement 2
लुम्बिनी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना), संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरू पनि देउडाको तालमा झुम्न थाले। रुपैडिया नगरका मेयर डा. उमाशंकर वैश्य, व्यापार मण्डलका अध्यक्ष र महासचिवले पनि उत्साहपूर्वक देउडामा पाइला मिलाए। महिलाहरूको छुट्टै समूह पूर्वी कुनामा नाच्न थाल्यो।
Advertisement 3

घर फर्किन लागेका दर्शक पनि देउडाको माहोलमा तानिए। महोत्सव परिसरमा दर्जनौं समूह बनेर सयौं व्यक्तिहरू देउडामा रमाए। के युवा, के वृद्ध—सबैले समूह बनाएर नाचगान गरे।
गायिका भूमिका गिरीले “चोली मैलो भो…”, “तारासँगै जुन…”, “देउरालीमा…” जस्ता लोकप्रिय गीत प्रस्तुत गरिन्। उनी मञ्चबाट तल झरेर दर्शकमाझ पुगेकी थिइन् र गीत गाउँदै हात मिलाउँदै रमाइलो गरिन्। डान्सर आरुषी अस्लामी मगर को नृत्यले समेत दर्शकलाई झनै उत्साहित बनायो।

महोत्सवका सांस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामी का अनुसार बिहीबार महोत्सवको आठौं दिनमा चर्चित लोकगायक बद्री पंगेनी, लोकदोहोरी गायिका अनिता चलाउने, गायक सपना शाही, डान्सर निशु श्रीपाइली, तथा हास्यव्यङ्ग्य कलाकार खन्टे खलास समूह ले प्रस्तुति दिनेछन्। साथै, मगर समाज खजुरा सैनिक को सामूहिक टप्पा नृत्य र इन्टर स्कुल डान्सिङ स्टार २०८१ का कलाकारको नृत्य प्रतियोगिता विशेष आकर्षण हुने जनाइएको छ।
महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द ले हरेक दिन दर्शक संख्या बढ्दै गएको बताए। अर्गानिक सामान, हस्तकलाका सामग्री, स्थानीय उत्पादनहरू किन्न तथा सांस्कृतिक कार्यक्रम अवलोकन गर्न दर्शक आकर्षित भइरहेका छन्।
नेपालगन्जको यस प्रादेशिक महोत्सव सांस्कृतिक विविधता, मौलिक लोकसंस्कृति र मनोरञ्जनको संगम बनेको छ। आयोजकहरूका अनुसार महोत्सवको लोकप्रियता अझै बढ्दै जाने अपेक्षा गरिएको छ।










प्रतिक्रिया