२२ भदौ, नेपालगञ्ज । भाद्र शुक्ल पूर्णिमाका दिन आज आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा सुरु हुने ग्रहण १ बजेर ४१ मिनेटमा समाप्त हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालसहित भारत र एसियाका धेरै देशबाट स्पष्ट देखिनेछ।
Advertisement 1
पञ्चाङ्गअनुसार ग्रहणको समयावधि यसप्रकार छः
Advertisement 2
ग्रहण स्पर्श : राति १०:११ बजे
सम्मीलन : राति ११:१५ बजे
Advertisement 3
मध्य : राति ११:५६ बजे
उन्मिलन : राति १२:३८ बजे
मोक्ष : राति १:४१ बजे
खगोलशास्त्री प्राडा जयन्त आचार्यका अनुसार यो ग्रहण सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।
फलित ज्योतिषशास्त्रअनुसार मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिलाई ग्रहण नहेर्न सल्लाह दिइएको छ। अन्य राशिका लागि भने हेर्न मिल्ने बताइएको छ। मेष राशिका लागि लाभ, वृषका लागि सुख, मिथुनका लागि माननाश, कर्कटका लागि कष्ट, सिंहका लागि स्त्रीपीडा, कन्याका लागि सुख, तुलाका लागि चिन्ता, वृश्चिकका लागि व्यथा, धनुका लागि श्रीप्राप्ति, मकरका लागि क्षति, कुम्भका लागि घात र मीनका लागि व्यय फल हुने उल्लेख गरिएको छ।
यस्तै शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र तथा कुम्भ राशिका लागि यो ग्रहण विशेष चुनौतीपूर्ण हुने पञ्चाङ्गमा उल्लेख छ।
पौराणिक मान्यताअनुसार ग्रहण लाग्ने केही समयअघिदेखि नै ‘सुतक’ मानिने भएकाले दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र रोगीबाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा मन्त्रजप, हवनजस्ता धार्मिक कार्य गर्न उपयुक्त मानिएको छ भने शयन, खानपिन र मैथुनलाई निषेध गरिएको छ।
यसअघि पञ्चाङ्गमा फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने उल्लेख गरिएको छ।











