नेपालगन्ज पोष्ट : नेपालगन्जलाई सिर्जनशीलता, नवप्रवर्तन र डिजिटल संस्कृतिको राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी माघ ११ गते शनिबार (जनवरी २४, २०२६) ‘क्रिएटर्स मेला–२०२६’ आयोजना हुने भएको छ। अमेरिकी दूतावास, नेपालको आयोजनामा हुन लागेको यो मेला नेपालगन्जका लागि नयाँ सम्भावनाको ढोका खोल्ने कार्यक्रमका रूपमा हेरिएको छ।
Advertisement 1
यस मेलाले स्थानीय प्रतिभा, युवा सिर्जनाकर्ता, कलाकार र उद्यमीलाई एउटै मञ्चमा जोड्दै उनीहरूलाई राष्ट्रिय पहिचान दिलाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
Advertisement 2
सहभागी हुनका लागि यहाँ क्लिक गर्नुहोस्
स्थानीय संयोजक निहाल अहमदका अनुसार ‘क्रिएटर्स मेला’ कुनै साधारण कार्यक्रम नभई नेपालगन्जको भविष्यसँग जोडिएको अभियान हो। “यो मेला युवाहरूका लागि प्रेरणा, सिकाइ र नेटवर्किङको साझा थलो बन्नेछ,” उनले बताए। डिजिटल सिर्जना, उद्यमशील सोच र स्थानीय सांस्कृतिक पहिचानलाई एकैसाथ अघि बढाउने लक्ष्य कार्यक्रमले लिएको छ।
Advertisement 3
मेलामा कला, मनोरञ्जन, डिजिटल मिडिया, उद्यम र प्रविधि क्षेत्रका चर्चित नामहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
कला तथा मनोरञ्जनतर्फ प्रियंका कार्की र आयुष्मान जोशी सहभागी हुनेछन् भने डिजिटल सिर्जनाको क्षेत्रमा लेक्स लिम्बु, कविता नेपाली र ईभा गिरीले आफ्ना अनुभव साझा गर्नेछन्।
त्यसैगरी उद्यम र प्रविधि क्षेत्रबाट ‘शार्क ट्यांक नेपाल’ का विशाखा खड्का र आनन्द बगरिया, साथै एआई विशेषज्ञ अश्विन न्यौपाने वक्ताका रूपमा रहनेछन्। मेकअप आर्टिस्ट सुभा कार्की, सगरमाथा आरोही विधान श्रेष्ठ र सिनेमाटोग्राफर प्रेमा लामगाडे पनि कार्यक्रममा सहभागी हुनेछन्।
वक्ताहरूले ब्रान्ड निर्माण, करियर विकास, डिजिटल अवसर र व्यवसाय विस्तारका व्यावहारिक अनुभव प्रस्तुत गर्नेछन्।
मेलाको विशेष आकर्षणका रूपमा चर्चित गायक सज्जन राज वैद्यको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ। लाइभ कन्सर्टले मेलालाई अझ ऊर्जा र उत्साहले भरिने अपेक्षा गरिएको छ।
कार्यक्रमको समन्वयमा मोहिनी विष्ट पौडेल, रेहान लगायत स्थानीय टोली सक्रिय रहेको छ। आयोजकहरूका अनुसार ‘क्रिएटर्स मेला–२०२६’ ले नेपालगन्जको आवाज, कथा र सम्भावनालाई देशभर पुर्याउने महत्वपूर्ण माध्यम बन्नेछ।
सिर्जनशील सोच, युवा शक्ति र अवसरको संगम बनेको यो मेला नेपालगन्जलाई साँच्चिकै राष्ट्रिय क्रिएटिभ हब बनाउने दिशामा एउटा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।










प्रतिक्रिया