सन्देश भुसाल,नेपालगञ्ज, चैत २७ – बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जना नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ पर्नेहरूमा ठाकुरसँगै घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी, सोही कार्यालयका ज्यालादारी सहायक कम्प्युटर अपरेटर मनोज गिरी र मामा-भान्जा मोटर ड्राइभिङ सेन्टर, नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। आयोगका अनुसार उनीहरूले नक्कली चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम असुल गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको थियो। अनुसन्धान टोलीले प्रयोगमा ल्याइएका विद्युतीय उपकरणहरू पनि बरामद गरेको जनाएको छ। आयोगले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। Post navigation अत्तरियामा मन्दिरभित्रै हत्या : पहिचान नखुलेको पुरुषको शव फेला, प्रहरीमाथि लापरवाहीको आरोप सेविल इन्टरटेनमेन्टको प्रस्तुति ‘दिल कहे बार-बार’ सार्वजनिक, निर्देशक नवराज सुवेदीको ९९ औं निर्देशन