Listen LIVE

काठमाडौं । राष्ट्रियसभा आजको बैठकमा सदस्यहरूले तराई– मधेसका क्षेत्रमा खडेरीका कारण प्रभावित किसानका समस्या समाधान गर्न तथा समयमै मल बीउको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement 1

 

बैठकमा सांसदहरूले प्रभावित किसानलाई किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न र प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न आग्रह गरे ।

Advertisement 2

 

नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्तले नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाको पूर्णपाठले औँल्याएका ‘चयनमुखी दृष्टिकोण’ अपनाइएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताइन् ।

Advertisement 3

 

सांसद पन्तले राज्यका प्रमुख अङ्गको विश्वसनीयता दिन प्रतिदिन खस्कदै गएकामा चिन्ता व्यक्त गरिन् । ‘संस्थागत विश्वसनीयता घट्दै गएको छ, सेवा प्रदायक र सेवाग्राहीको बीचमा विश्वास छैन’, उनले भनिन्, ‘सरकार मातहतका निकायले कमजोरी गरे कारबाही गर्ने कार्यपालिकाले हो, तर मन्त्रीहरूका बारेमा छ्याप्छ्याप्ती आइरहेका भिडियोका बारेमा हामी बोल्ने कि नबोल्ने, कोही कारबाहीमा पर्ने कोहीले उन्मुक्ति पाउने भन्ने आशङ्का बढ्दै गएको छ ।’

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले तराई–मधेसमा खानेपानी तथा सिँचाइको सङ्कट भोगिरहेका नागरिकलाई तत्काल राहत दिन आग्रह गरे । ‘अप्ठयारामा परेका नागरिकलाई सहायता गर्ने कागजी घोषणाबाट सरकार पन्छिन मिल्दैन, सरकारले ठोस् राहत प्याकेजको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘पछिल्लो एक वर्षमा सरकारले जनताको आवश्यकता सम्बोधन गर्न सकेन, आर्थिक समृद्धि, अर्थतन्त्रको सुधार, रोजगारी, स्वास्थ्य सेवा प्रवाहमा सरकारले जोड दिनुपर्छ ।’

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद डा वेदुराम भुसालले जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुँदा विश्व समुदाय प्रभावित भइरहेको उल्लेख गर्दै विश्वका सबै मुलुकले हरित गृह ग्यास उत्सर्जन कम गरी जलवायु परिवर्तन अनुकूलनका नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद पूजा चौधरी मध्य बर्खामा सिँचाइको अभाव हुँदा अन्न भण्डारका रुपमा रहेको तराई–मधेसका क्षेत्रमा रोपाइँ हुन नसकेको जनाउँदै तराई–मधेस क्षेत्रमा देखिएको खडेरीले कूल गाह्रस्र्थ उत्पादनमा ह्रास ल्याउने बताइन् ।

 

मनोनीत सांसद डा अन्जान शाक्यले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सबल उत्पादन, आयात प्रतिस्थापन, निर्यातजन्य उद्योगलाई प्रोत्साहन, समावेशी पहुँच, महिला र सीमान्तकृत समुदायमा वित्तीय सेवाको पहुँचलाई ध्यान दिनुपर्ने बताए ।

 

मनोनीत सांसद वामदेव गौतमले ललितपुरको भैँसेपाटी क्षेत्रको ऐतिहासिक पक्ष हराउने गरी सङ्घीय मन्त्री निवास, प्रदेश प्रमुखको आवास राखिएकामा आपत्ति जनाउँदै सुरक्षाकर्मीको मार्चपासबाट सो क्षेत्रका मूलवासी मगर समुदाय त्रसित रहेको बताए ।

 

कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले भौगोलिक वनावटका कारण नेपाल प्राकृतिक विपद्को जोखिममा रहेको जनाउँदै विपद् उत्थानशील विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिइन् ।

 

नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान गठबन्धन सरकारले एक वर्षको अवधिमा जनताको अपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाउँदै जनअपेक्षा पूरा गर्न आफ्नो पार्टीले खबरदारी गरिरहने बताए ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रुक्मिणी कोइरालाले दोलखाको उत्तरी नाकालाई व्यवस्थित बनाउँदै सीमावर्ती क्षेत्रमा बस्ने नागरिकको दैनिक जनजीवनलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!