नयाँ दिल्ली, साउन ६ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको एक विमानको पुच्छर भागमा आगलागी भएको छ। मंगलबार दिउँसो हङकङबाट दिल्ली आइपुगेको फ्लाइट एआई ३१५ को सहायक पावर युनिट (APU) मा आगलागी भएको हो।
Advertisement 1

उक्त विमान दिउँसो १२:१२ बजे दिल्ली अवतरण गरी टर्मिनलमा पार्किङ गरेलगत्तै आगलागी भएको पुष्टि भएको छ। आगलागी विमानका यात्रुहरू ओर्लन थालेकै समयमा भएको हो। यद्यपि, घटनामा कुनैपनि यात्रु वा चालक दललाई चोटपटक नलागेको र सबै सुरक्षित रहेको एयर इन्डियाले जनाएको छ।
Advertisement 2
सहायक पावर युनिट (एपीयू) विमानको पुच्छरमा रहेको हुन्छ, जसले विमान पार्किङ अवस्थामा रहँदा विद्युत आपूर्ति तथा एयर कन्डिसनिङ प्रणाली सञ्चालन गर्ने कार्य गर्छ। विमानको मुख्य इन्जिन बन्द रहँदा एपीयूले नै बत्ती, नियन्त्रण प्रणाली र एसीलाई सक्रिय राख्ने गर्दछ।
Advertisement 3
घटनापछि एपीयू स्वतः बन्द भएको र प्रणालीले आगलागीलाई नियन्त्रणमा लिएको एयर इन्डियाले विज्ञप्तिमार्फत जनाएको छ। यद्यपि, विमानको केही भागमा क्षति पुगेको छ र अहिले थप अनुसन्धानका लागि उक्त विमान रोकिएको छ। यसबारे नियामक निकायलाई पनि जानकारी दिइएको बताइएको छ।
उक्त घटना पश्चात विमानस्थलमा केहीबेर हलचल सिर्जना भएपनि अब अवस्था सामान्य रहेको जनाइएको छ। एयर इन्डियाले यात्रुहरूको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै घटनाको विस्तृत अध्ययन गरी आवश्यक कदम चालिने जनाएको छ।










प्रतिक्रिया