नेपालगञ्ज पोष्ट : आज माघ १ गते, माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति पर्व देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मकर सङ्क्रान्ति भनिन्छ। यही दिनदेखि उत्तरायण सुरु हुने विश्वास छ, जसअनुसार दिन लामा र रात छोटा हुँदै जान्छन्।
Advertisement 1

माघ १ गते स्नान, जप, तप, ध्यान, दान गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। यही विश्वासका कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। ती स्थानहरूमा आज विशेष मेला पनि लाग्छ।
Advertisement 2
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् अनिवार्य स्नान गर्ने पर्वका रूपमा मनाइन्छ। वर्षभरि नुहाउन कठिन हुने तराईवासीले आज भने बिहानै नदी, घाट वा जलाशयमा गई स्नान गर्ने चलन छ। स्नानपछि तिल दान गर्नाले सुन दान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ।
Advertisement 3
धर्मशास्त्रअनुसार माघ १ गते घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, जलाशयमा स्नान गर्ने र ध्यान नगर्ने व्यक्तिलाई जीवनभर रोगले सताउने उल्लेख गरिएको छ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका लड्डु, तरुल, पालुङ्गो, खिचडी लगायतका तातो परिकार खाने परम्परा छ। चिसो मौसममा न्यानो दिने यी परिकार स्वास्थ्यका लागि लाभदायक मानिन्छन्। आयुर्वेदअनुसार यी खानेकुराले शरीरका त्रिदोष नाश हुने विश्वास छ।
माघी थारु समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। यो पर्व नयाँ वर्षको सुरुवातका रूपमा पनि लिइन्छ। माघीका दिन थारु समुदायमा घर–घरमा विशेष परिकार पाक्ने, परिवार तथा आफन्त भेला हुने, नाचगान गर्ने र सामाजिक निर्णयहरू लिने परम्परा छ।
थारु समुदायमा यसै दिन नयाँ कामदार राख्ने, पुराना ऋण–लेनदेन मिलाउने, गाउँका अगुवाहरू चयन गर्ने चलन पनि रहिआएको छ। माछा, भात, ढिक्री, सुँगुरको मासु लगायतका परिकार माघीमा विशेष रूपमा खाने गरिन्छ।
बाँके जिल्लामा माघी विशेष रौनक देखिएको छ। नेपालगञ्ज आसपासका क्षेत्रमा आज विभिन्न स्थानमा मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
राप्ती–सिद्धिनिया घाटमा आज दिनभर माघी मेला लागेको छ। यहाँ स्नान, पूजाआजा, थारु सांस्कृतिक नाचगान र स्थानीय परिकारको स्वाद लिन सकिन्छ।
बर्दियाको बढैया ताल क्षेत्रमा पनि माघी विशेष मेला सञ्चालन भइरहेको छ, जहाँ टाढाटाढाबाट सर्वसाधारण सहभागी भइरहेका छन्।
बाँकेका खजुरा, कोहलपुर, जानकी, डुडुवा लगायतका स्थानहरूमा थारु समुदायको अगुवाइमा माघी विशेष सांस्कृतिक कार्यक्रम, नाचगान तथा सामूहिक भोजको आयोजना गरिएको छ।
माघे सङ्क्रान्ति देशभर मनाइए पनि तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, नवलपरासी लगायतमा माघीको विशेष उत्सव देखिन्छ। पहाडी र हिमाली क्षेत्रमा भने धार्मिक स्नान, दान र पूजा–अर्चनामा जोड दिइन्छ।
माघे सङ्क्रान्ति केवल धार्मिक पर्व मात्र नभई प्रकृतिसँग जोडिएको वैज्ञानिक महत्व बोकेको पर्व पनि हो। उत्तरायणको सुरुवातसँगै उज्यालो बढ्ने विश्वास, स्वास्थ्यका लागि उपयोगी खानपान, सामाजिक मेलमिलाप र सांस्कृतिक एकताको सन्देश यस पर्वले बोकेको छ। आज देशभर श्रद्धा, संस्कृति र उत्सवको संगम देखिएको छ।










प्रतिक्रिया