सुनिल उलक , नेपालगञ्ज । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरस्थित जुँगे महादेवको मन्दिरमा हालै निर्माण गरिएको अष्टधातुको नयाँ मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा निर्माण गरिएको नयाँ मूर्ति आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
Advertisement 1
बिशेष गरी ‘जुँगे महादेव’ भनेर चिनिने यस शिवमूर्ति अनौठो छ, किनभने यसमा महादेवलाई जुँगा भएको स्वरूपमा देखाइएको छ। यसरी महादेवको मूर्तिमा जुँगा देखिनु दुर्लभ मात्र होइन, ऐतिहासिक रूपमा पनि महत्वपूर्ण छ।
Advertisement 2
पुरानो मूर्ति र रोचक कथा
Advertisement 3
वि.सं. २०३० सालतिर नेपालगञ्जका बडाहाकिम श्री ३ देवशमशेरका छोरा प्रकाश शमशेर जबराको निर्देशनमा बागेश्वरी मन्दिर परिसरको सिद्धपोखरीको पुनर्निर्माण कार्य गरिएको थियो। पोखरीको बीचमा महादेवको मन्दिर निर्माण गरिएपछि, त्यहाँ मूर्ति राख्न लखनउबाट मुस्लिम कालिगढ (मूर्ति कलाकार) लाई बोलाइएको थियो।
कथनअनुसार, कालिगढले महादेवको अनुहार बनाउन गाह्रो महसुस गरेपछि मूर्ति बनाउने व्यक्तिको प्रभावले प्रेरित भएर, अर्थात् मूर्ति बनाउन आदेश दिने प्रकाश शमशेरको जस्तै जुँगा र रोबिलो अनुहारमा मूर्ति निर्माण गरे। यही कारणले आजसम्म पनि सो महादेवको मूर्तिलाई ‘जुँगे महादेव’ वा ‘जुँगेश्वर महादेव’ नामले चिनिन्छ।
नयाँ मूर्तिमा पनि पुरानो मौलिकता
२०७२ को भूकम्पपछि संरचना जिर्ण हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ अष्टधातु मूर्ति निर्माणको निर्णय गरेको हो। निर्माण सम्पन्न भएपछि आज २०८२ सालको साउन ५ गते विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको हो।
यस नयाँ मूर्तिमा पनि पुरानो मूर्तिको मौलिकता झल्कने प्रयास गरिएको छ। जुँगा भएको स्वरूपलाई कायम राखिएको छ, जसले महादेवको पारम्परिक स्वरूपसँगै नेपालगञ्जको ऐतिहासिक पहिचानलाई पनि संरक्षण गरेको छ।
नेपालगञ्जको जुँगे महादेव न केवल धार्मिक आस्था, तर इतिहास र सांस्कृतिक सम्पदाको जीवित उदाहरणको रूपमा रहँदै आएको छ। अब नयाँ अष्टधातु मूर्तिसहित, यसको सौन्दर्य र आकर्षण अझ बढेको छ।










प्रतिक्रिया