सन्देश भुसाल,बाँके, बैशाख १७ : बाँकेको बैजनाथ गाउँपालिका–४ नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या घटनामा उनका बाबु–आमाकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कुशलको शव वैशाख १५ गते अपराह्न ५ बजे कुलोमा गाडिएको अवस्थामा फेला परेको थियो। हराएको सातौं दिनमा शव सडेको अवस्थामा भेटिएको हो। घटनाको अनुसन्धानमा खटिएका प्रहरीले कुशलको हत्या उनकी आमा ३२ वर्षीया यशोदा बुढा र सौतेला बाबु ३३ वर्षीय निरकनाथ योगीको संलग्नता देखिएको जनाएका छन्। कुशलको पितृत्वका विषयमा विवाद उत्पन्न भएपछि हत्या गरिएको खुलेको छ। यशोदा र निरकनाथले विवादका क्रममा कुशलको हत्या गरी शव नौलापुरस्थित पानी नआउने कुलोमा गाडेको आशंका छ। यशोदा बुढाका पहिलो श्रीमान जानकी गाउँपालिका–३ का थिए। सात वर्षअघि उनको मृत्यु भएपछि यशोदाले दैलेखका निरकनाथसँग दोस्रो विवाह गरेकी थिइन्। तर उनले दोस्रो विवाहको कुरा लुकाएर आफूलाई ‘एकल महिला’ भन्दै जानकी गाउँपालिकाबाट भत्तासमेत लिँदै आएकी थिइन्। कोहलपुर नगरपालिका–११ मा डेरा गरी बस्दै आएका यशोदा र निरकनाथले कुशललाई कोहलपुर माविमा भर्ना गरेका थिए। विद्यालयमा उनले बाबुको नाम सन्तोष खनाल भनेर लेखाएकी थिइन्, जबकि कुशलको वास्तविक बाबु मुस्लिम समुदायका थिए। कुशल बेपत्ता भएपछि यशोदाले आफैं प्रहरीमा निवेदन दिएकी थिइन्। तर, उनले छोराको खोजीमा खासै चासो नदेखाएको प्रहरीले जनाएको छ। वैशाख ८ गतेदेखि हराएका कुशलको शव वैशाख १५ मा १३ किलोमिटर टाढाको कुलोमा भेटिएको हो। गोठालो गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटेपछि यशोदाले नै कुशलको सनाखत गरेकी थिइन्। अनुसन्धानका क्रममा कुशललाई घरमै हत्या गरी कुलोसम्म लगेर गाडिएको हुन सक्ने आशंका गरिएको छ। हाल यशोदा बुढा र निरकनाथ योगी दुबैजना इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्। जिल्ला अदालतले उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। मृतक कुशलका हजुरबुवा सरिखत अली शेखले यशोदाविरुद्ध जाहेरी दर्ता गराएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। Post navigation सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता गुर्जाका किसानले थाले सामूहिक तरकारीखेती