सन्देश भुसाल, नेपालगञ्ज : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबार बिहान ८ बजेदेखि देशभरका २,०७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु भएको छ। बाँके जिल्लामा मात्र ३६ परीक्षा केन्द्र तोकिएको छ, जहाँ १० हजार ४१६ विद्यार्थीले परीक्षा दिइरहेका छन्।

 

बाँकेका आठ स्थानीय तहका २८ सामुदायिक र ८ संस्थागत विद्यालय गरी ३६ परीक्षा केन्द्र तोकिएका छन्। त्यस्तै, बालसुधार गृहका ४३ जना बालबिज्याइँकर्ताले पनि परीक्षा दिइरहेका छन्।

 

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार नेपालगञ्जमा ११, कोहलपुरमा १०, राप्तीसोनारी, बैजनाथ, खजुरा गाउँपालिकामा ४/४, नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा १/१ परीक्षा केन्द्र तोकिएका छन्।

 

जिल्लामा १०४ सामुदायिक र १०२ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन्। तीमध्ये ५,१७९ छात्रा र ५,२३७ छात्र गरी जम्मा १०,४१६ विद्यार्थी छन्। नियमिततर्फ ८,२४३ जना र ग्रेड वृद्धितर्फ २,१७३ जना परीक्षार्थी छन्।

 

राप्तीसोनारी गाउँपालिकास्थित भुवरभवानी मावि परीक्षा केन्द्रमा सबैभन्दा धेरै ४०४ विद्यार्थी परीक्षा दिइरहेका छन् भने नरैनापुरको जयकिशन मावि केन्द्रमा सबैभन्दा कम १८१ विद्यार्थी छन्।

SEE-Routine-2081-PDF

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभर ५,१४,०७१ विद्यार्थी एसइईमा सहभागी भएका छन्। गत वर्षको तुलनामा परीक्षार्थीको संख्या ४९,२८६ ले वृद्धि भएको छ।

 

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। परीक्षाका लागि आवश्यक सामग्री समयमै परीक्षा केन्द्रहरूमा पुर्याइएको छ।

 

यस वर्ष जापानको एक परीक्षा केन्द्रमा २९ विद्यार्थीले एसइई दिइरहेका छन्। यस्तै, काठमाडौँको केन्द्रीय कारागार, दैलेखका दुई कारागार र भक्तपुरको बालसुधार गृहबाट पनि परीक्षाको व्यवस्था गरिएको छ।

 

चैत ७ गते अनिवार्य अंग्रेजी, ८ गते अनिवार्य नेपाली, १० गते गणित, १२ गते विज्ञान, १३ गते सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ।

 

बोर्डले असार ७ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यस वर्ष न्यूनतम ३५ अंक नल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। गत वर्ष एसइईको उत्तीर्ण दर ४८ प्रतिशत मात्रै थियो, तर यस वर्ष ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।

 

प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा कडा पारिएको छ। १५० विद्यार्थीसम्म रहेका केन्द्रमा एक सहायक केन्द्राध्यक्ष तोकिएको छ भने २० विद्यार्थी बराबर एक निरीक्षक खटाइएको छ।

 

एसइई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षा दिन परीक्षा बोर्डले आग्रह गरेको छ।

 

Leave a Reply

error: Content is protected !!