घोराही, दाङ: दाङको धारपानीमा अवस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा यस वर्ष पनि तीन दिनसम्म महाशिवरात्रि मेला आयोजना हुने भएको छ। घोराही उपमहानगरपालिका–५ स्थित धारपानीमा लाग्ने यस मेलामा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिनेछ।
Advertisement 1
महाशिवरात्रिको अवसरमा यही फागुन १२ गते १०८ वटा गौमुखी धाराको औपचारिक उद्घाटन गरिने पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो। दाताहरूको सहयोगमा निर्माण भएका धाराहरूको सामूहिक उद्घाटन गरिनेछ।
Advertisement 2

धाराहरूमा नियमित पानी व्यवस्थापनका लागि बबई नदीबाट पानी लिफ्टिङ गरेर पोखरीमा संकलन गरिने र त्यसपछि पाइपमार्फत धारामा पठाइने व्यवस्था मिलाइएको छ। उद्घाटन पश्चात् हरेक दिन बिहान दुई घण्टा ती धाराहरूमा स्नानका लागि पानीको व्यवस्था गरिनेछ।
Advertisement 3
महाशिवरात्रिको अवसरमा फागुन १३ गते बेलुका १०८० वटा दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ। त्यसपछि फागुन १४ गते विधिपूर्वक भगवान शिवको पूजा–अर्चना गरिनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा नेपाली सेना, सुरक्षाकर्मीहरू, मन्दिर व्यवस्थापन समिति र भक्तजनहरूको सहभागितामा शिव सलामीसमेत गरिनेछ।
मन्दिरको सौन्दर्य र आकर्षण बढाउन मन्दिर परिसरका मठ–मन्दिर, तुलसीमैरो, सिँढी, प्रतीक्षालयलगायतका स्थानहरूमा रंगरोगनको कामसमेत सम्पन्न गरिएको छ। मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभिन्न समिति र उपसमिति गठन गरिएको छ।










प्रतिक्रिया