नेपालगञ्ज, फागुन १ : पश्चिम नेपालको प्रमुख नाका मानिने नेपालगञ्जको जमुनाहा नाकाबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठूलो सङ्ख्यामा नेपाली तिर्थयात्रु सहभागी भएका छन्। पुस २९ गतेदेखि सुरु भई फागुन १४ (महाशिवरात्रि) सम्म सञ्चालन हुने यस धार्मिक मेलामा जमुनाहा नाकाबाट मात्र दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि गइरहेको पाइएको छ।
Advertisement 1
गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्दा पापको प्रायश्चित भई पुण्य प्राप्त हुने र मृत्युपछि मोक्ष मिल्ने धार्मिक मान्यता भएकाले नेपालबाट ठूलो सङ्ख्यामा श्रद्धालु प्रयागराज गइरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीका अनुसार सीमा नाकामा पछिल्ला केही दिनयता तीर्थयात्रुहरूको चाप बढेकाले सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।
Advertisement 2
नेपालगञ्जबाट ३८५ किलोमिटर टाढा रहेको प्रयागराज जाने तिर्थयात्रुहरूको सुविधाका लागि रुपईडिहाबाट दैनिक १० भन्दा बढी यात्रुबाहक गाडी सञ्चालन भइरहेका छन्। प्रहरी निरीक्षक बुढाथोकीका अनुसार रुपईडिहास्थित डिपोबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रयागराजका लागि बस सेवा उपलब्ध छ। साथै, नेपालगञ्ज र रुपईडियाबाट रिजर्भ गाडी पनि ठूलो सङ्ख्यामा सञ्चालन भइरहेका छन्।
Advertisement 3
महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किएकी नेपालगञ्ज–८ की अरुणा श्रेष्ठका अनुसार मेलामा धेरै नेपालीहरू भेटिएका छन्। “१४४ वर्षपछि लाग्ने महाकुम्भ मेलामा स्नान गर्ने अवसर प्राप्त भएकाले मैले यसलाई सदुपयोग गरेँ,” उनले भनिन् |
मेलामा अत्यधिक भीड हुने भएकाले त्यहाँ गइरहेका नेपाली श्रद्धालुहरूलाई सचेत रहन अनुरोध गरिएको छ। महाकुम्भबाट फर्किएका नेपालगञ्ज–११ का दिपक वैश्यले नेपालीहरूका लागि नेपाल सरकारले पनि सहज यातायात तथा अन्य व्यवस्थापन गरिदिएको भए राम्रो हुने बताएका छन्।
महाकुम्भ मेलामा नेपालका विभिन्न ठाउँबाट हजारौं श्रद्धालु गइरहेका छन्। सस्तो भाडाका कारण पश्चिम नेपालका हिन्दु धर्मावलम्बीहरू सार्वजनिक गाडीमा यात्रा गरिरहेको पाइन्छ। सुरक्षाको दृष्टिकोणले सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ भने नेपाल–भारतबीच धार्मिक यात्रुहरूको आवागमन सहज बनाउन पहल भइरहेको छ।










प्रतिक्रिया