Listen LIVE

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका राष्ट्रिय व्यक्तित्व तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक समारोहबीच अनावरण गरेको छ।

Advertisement 1

नगर प्रमुख प्रशान्त विष्ट ले शनिबार विभिन्न स्थानमा निर्माण तथा पुनःस्थापना गरिएका ६ वटा सालिकको औपचारिक अनावरण गरेका हुन्। उपमहानगरपालिकाका अनुसार यस परियोजनामा सालिक निर्माण, पुनःनिर्माण, मर्मत तथा चोकहरूको सौन्दर्यीकरणसहित करिब ७८ लाख रुपैयाँ खर्च गरिएको छ।

Advertisement 2

 

यसअन्तर्गत संविधानसभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री रहेका नेपालगञ्जका स्वर्गीय सुशील कोइरालाको अर्धकदको नयाँ सालिक ट्राफिक चोक नजिकको उद्यानमा निर्माण गरिएको छ। उक्त सालिक निर्माणमा करिब २३ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ।

Advertisement 3

गणेशमान

त्यसैगरी, गणेशमान चोकस्थित नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको पूर्णकदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्णकदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो।

यस्तै, धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्णकदको सालिक ९ लाख ८२ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको छ भने पुष्पलाल चोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँमा पुनःनिर्माण गरिएको छ।

 

यसैगरी, न्युरोडस्थित २०६२/६३ सालको जनआन्दोलनका सहिद सेतु विकको अर्धकदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ। विकले सोही स्थानमा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेकी थिइन्।

 

 

उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ रूपमा निर्माण गरिएका हुन्। साथै, सुशील कोइरालाको सालिक रहेको उद्यानबाहेक अन्य सालिक रहेका चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको छ।

सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिकहरू भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए। राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलनका क्रममा हटाइएको थियो।

 

सालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख प्रशान्त विष्टले लामो समयदेखि पुनःस्थापना हुन बाँकी रहेका तथा विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक सालिकहरूलाई क्रमशः पुनःनिर्माण गरी पुनःस्थापना गरिएको बताए।

 

उनले इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको प्रमुख दायित्व रहेको उल्लेख गरे।

 

“इतिहास हाम्रो साझा सम्पत्ति हो। यसको संरक्षण गर्नु नेपालगञ्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो,” नगर प्रमुख विष्टले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!