Listen LIVE

नेपालगञ्ज । आज आषाढ शुक्ल हरिशयनी एकादशीका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा तुलसी रोप्दै चार महिनासम्म गरिने विशेष पूजा आराधना सुरु गरेका छन्।

Advertisement 1

 

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको तुलसीको दल आज रोप्ने परम्परा छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म तुलसीको नित्य पूजा, आराधना र व्रत गरिन्छ।

Advertisement 2

 

धार्मिक मान्यता अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनासम्म शयन गर्नुहुन्छ। यही कारण यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। कार्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन भगवान् विष्णु जागृत हुने विश्वास रहेको छ। विष्णुको शयनकाललाई चतुर्मास पनि भनिन्छ।

Advertisement 3

 

शास्त्रअनुसार वर्षभर २४ वटा एकादशी पर्ने भए पनि चतुर्मासका आठ एकादशी विशेष महत्वका मानिन्छन्। धेरै श्रद्धालुले आजदेखि सुरु हुने अवधिमा व्रत, पूजा तथा एकादशी महात्म्यको पाठ पारायण गर्ने परम्परा निभाउँछन्। चार महिनापछि हरिबोधिनी एकादशीका दिन तुलसी र भगवान् दामोदर (विष्णु) को विवाह गराउने तथा हवनसहित चतुर्मास व्रतको समापन गर्ने वैदिक विधि रहेको छ।

 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा दर्शन, पूजा र धार्मिक अनुष्ठानका लागि भक्तजनको घुइँचो लागेको छ। साथै विभिन्न धार्मिकस्थल, मठ, सत्तल र पाटीमा चार महिनासम्म सञ्चालन हुने चतुर्मास पुराण वाचन पनि आजदेखि सुरु भएको छ।

 

धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक तथा आयुर्वेदिक दृष्टिले पनि अत्यन्त उपयोगी वनस्पति मानिन्छ। तुलसीबाट पर्याप्त अक्सिजन उत्सर्जन हुने, वातावरण शुद्ध बनाउन सहयोग पुग्ने तथा विभिन्न रोगको उपचारमा औषधिका रूपमा प्रयोग हुने तथ्य स्थापित भइसकेको छ। तुलसी भएको स्थानमा शुद्ध हावा प्रवाह हुने र वातावरण स्वच्छ रहने विश्वाससमेत रहँदै आएको छ।

 

हरिशयनी एकादशी धार्मिक आस्था, वातावरण संरक्षण र स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा प्रत्येक वर्ष श्रद्धापूर्वक मनाइँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!