नेपालगञ्ज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषि पञ्चमी पर्व मनाइरहेका छन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बाँकेका विभिन्न धार्मिक तथा नदी किनारका क्षेत्रमा बिहानैदेखि श्रद्धालु महिलाहरूको चहलपहल देखिएको छ।
Advertisement 1

खजुरा गाउँपालिका–२ स्थित श्री नवदुर्गा मन्दिर परिसरमा पनि बिहानैदेखि सामूहिक रूपमा ऋषि पञ्चमीको पूजा–आराधना गरिएको छ। करिब २० जनाको समूहमा महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरेका थिए। पूजा कार्यक्रममा व्रत बसेका महिलासँगै अन्य भक्तजनहरूको समेत सहभागिता रहेको थियो।
Advertisement 2
नेपालगञ्जबाट पूजा गर्न खजुरा पुगेकी टीकाकुमारी शर्माले विगत पाँच वर्षदेखि यही स्थानमा आएर ऋषि पञ्चमीको पूजा गर्दै आएको बताइन्। उनका अनुसार यसअघि नेपालगञ्जमै पूजा गर्ने गरे पनि गाउँघरको वातावरण, सामूहिक पूजा र धार्मिक गतिविधिका कारण यहाँ आएर पूजा गर्न अझ रमाइलो लाग्ने गरेको छ।
Advertisement 3
«“पहिलेका वर्षमा नेपालगञ्जमै पूजा गर्थें। तर विगत पाँच वर्षदेखि यहीँ आएर पूजा गर्ने गरेकी छु। गाउँघरमै सामूहिक रूपमा पूजा गर्दा बजारभन्दा फरक र रमाइलो लाग्छ,” शर्माले भनिन्।»
पूजा हेर्न तथा कथा सुन्न अन्य भक्तजनहरू पनि मन्दिर परिसरमा पुगेका थिए। पूजा सम्पन्न भएपछि प्रसाद ग्रहण गर्ने तथा व्रत बसेका महिलाले टीका लगाएर प्रसाद बाँड्ने चलनसमेत रहेको छ।
स्थानीय अञ्जना शर्माका अनुसार ऋषि पञ्चमीको अवसरमा साँझ भजन–कीर्तन गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा पनि रहेको छ। व्रत बसेका महिलाहरूले साँझ विशेषगरी साबुदाना, सेवै लगायतका परिकार बनाएर खाने गरेका छन्।

ऋषि पञ्चमीका अवसरमा बाँकेका अन्य विभिन्न स्थानमा समेत सामूहिक रूपमा पूजा–आराधना भइरहेको छ। नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसर, शिलान्याघाट–अगैया क्षेत्र, मानखोला तथा स्थानीय नदी किनारका साथै विभिन्न शिवालय र गणेश मन्दिरमा श्रद्धालु महिलाहरूले पूजा गरेका छन्।
नेपालगञ्ज–१० आदर्शनगरस्थित गणेश मन्दिर, हनुमानगढीलगायतका धार्मिक स्थलमा कतै ८–१० जना त कतै २०–२५ जनाको समूह बनाएर सामूहिक पूजा गरिएको पाइएको छ। मन्दिर तथा नदी किनारमा पुग्न नसक्ने महिलाहरूले भने घरमै पनि ऋषि पञ्चमीको पूजा–आराधना गर्ने गरेका छन्।
ऋषि पञ्चमी हिन्दू धार्मिक परम्परामा सप्तऋषिको पूजा गर्ने विशेष दिन हो। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने परम्परा छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकैले यस दिनलाई ‘ऋषि पञ्चमी’ भनिएको धार्मिक मान्यता छ।
परम्पराअनुसार महिलाहरू बिहानै उठेर नित्यकर्म सम्पन्न गरी स्नान गर्ने, दत्तिवनले दाँत माझ्ने तथा त्यसपछि पूजा–आराधना गर्ने गर्छन्। धार्मिक विधिमा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा कतिपय परम्परामा पञ्चगव्य सेवन गर्ने उल्लेख पाइन्छ।
पूजा सम्पन्न गरेपछि सामा, कागुनो, कन्दमूल, कर्कलालगायत नरोपी उम्रेका अन्न तथा फलफूल खाने र एक छाक हविष्य बस्ने धार्मिक परम्परा रहेको छ।
ऋषि पञ्चमीको धार्मिक पृष्ठभूमि महिलाको रजस्वला अवस्थासँग जोडिएको प्राचीन धार्मिक मान्यतासँग सम्बन्धित छ। विभिन्न धार्मिक ग्रन्थ तथा किम्बदन्तीमा यस पर्वको सम्बन्ध इन्द्रको ब्रह्महत्याको पापसँग जोडिएको कथा पाइन्छ।
धार्मिक कथाअनुसार प्राचीन समयमा इन्द्रले विश्वरूपको हत्या गरेपछि ब्रह्महत्याको दोष भोग्नुपरेको थियो। उक्त दोषबाट मुक्त हुन इन्द्रले ब्रह्मासँग प्रार्थना गरेपछि ब्रह्माले दोषको केही अंश पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिदिएको धार्मिक कथन छ। यही कथासँग जोडेर स्त्रीमा रजस्वला हुने परम्परा सुरु भएको धार्मिक विश्वास विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।
यसै धार्मिक मान्यताका आधारमा रजस्वलाका क्रममा जानी–नजानी भएका छुवाछुत वा अन्य त्रुटिबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा विकास भएको मानिन्छ।
यद्यपि रजस्वला प्राकृतिक तथा जैविक प्रक्रिया हो। आधुनिक स्वास्थ्य विज्ञानले यसलाई कुनै धार्मिक दोष वा अशुद्धताका रूपमा नभई शरीरमा हुने सामान्य जैविक प्रक्रियाका रूपमा व्याख्या गर्छ। त्यसैले ऋषि पञ्चमीसँग जोडिएका परम्परालाई धार्मिक तथा सांस्कृतिक अभ्यासका रूपमा बुझ्दै महिनावारीसम्बन्धी स्वास्थ्य र स्वच्छताबारे वैज्ञानिक चेतना फैलाउनु पनि आवश्यक देखिन्छ।
हरितालिका तीजको व्रत तथा पूजा–आराधना महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय उल्लेख रहे पनि ऋषि पञ्चमी महिलाका लागि विशेष रूपमा गरिने पर्वका रूपमा धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।
यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। धर्मशास्त्रीहरूका अनुसार तीज व्रतको पारायण गरेपछि पञ्चमी स्नान तथा ऋषि पञ्चमीसँग सम्बन्धित धार्मिक कर्म गर्नुपर्ने हुन्छ।
ऋषि पञ्चमीका अवसरमा देशभरका विभिन्न ऋषेश्वर तथा शिवालय मन्दिरमा श्रद्धालु महिलाहरूको भीड लाग्ने गरेको छ। मन्दिर जान नसक्ने महिलाहरूले नदी, खोला, पोखरी वा घरमै सप्तऋषिको पूजा–आराधना गर्ने गरेका छन्।
यसरी ऋषि पञ्चमी धार्मिक आस्था, परम्परा र सामूहिक संस्कृतिसँग जोडिएको पर्वका रूपमा पुस्तौंदेखि मनाइँदै आएको छ। बाँकेमा पनि विभिन्न स्थानमा सामूहिक पूजा, कथा श्रवण, प्रसाद ग्रहण तथा साँझ भजन–कीर्तनसहित पर्व मनाउने क्रम जारी छ।










