अछाम, माघ १९- अछामको ढकारी गाउँपालिका-८ पल्सातामा गत शुक्रबार बेपत्ता भएका दुई किशोरीको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामले शनिबार पत्रकार सम्मेलन गर्दै सरस्वती खड्का र इशरा खड्काको हत्या भएको निष्कर्ष सार्वजनिक गरेको हो।
Advertisement 1
प्रहरीका अनुसार प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा सरस्वतीको हत्या भएको थियो भने घटना लुकाउन इशराको पनि हत्या गरिएको छ। हत्या आरोपमा पक्राउ परेका दुई किशोरले अपराध स्वीकार गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
Advertisement 2
प्रहरीका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक किशोरबीच लामो समयदेखि फोन सम्पर्क थियो। पहिलो पटक छिन्ने जंगलमा भेट्ने योजना बनाएपछि उनीहरू त्यहाँ पुगेका थिए।
Advertisement 3
त्यहाँ पुगेपछि इशरा र ती किशोरबीच प्रेम सम्बन्धको प्रतीकस्वरूप चुन्नी साटासाट भएको थियो। त्यही समयमा अर्का किशोरले सरस्वतीलाई प्रेम प्रस्ताव राखेका थिए। तर, सरस्वतीले अस्वीकार गरेपछि ती किशोर आवेशमा आएर ढुङ्गाले हानेर उनको हत्या गरेका थिए।
सरस्वतीको मृत्यु भएपछि इशरा र उनको प्रेमी घटनास्थलमा पुगे। इशराले फुपू सरस्वतीको हत्या भएको भन्दै गाउँमा खबर गर्ने बताइन्। यो सुनेपछि घटना बाहिर आउने डरले अर्का किशोरले इशराको पनि हत्या गर्ने योजना बनाए।
पहिले पछाडिबाट ढुङ्गा हानिएको र लडेपछि फेरि अगाडिबाट प्रहार गरी इशराको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
घटना लुकाउन दुवै किशोरले भीरमाथिबाट ढुङ्गा खसालेका थिए, ताकि सरस्वतीको मृत्यु पहिरोका कारण भएको जस्तो देखियोस्। तर, प्रहरीले अनुसन्धान गर्दा हत्या भएको प्रमाण फेला पारेको थियो।
प्रहरीका अनुसार उनीहरू गाउँबाट भाग्ने योजना बनाउँदै थिए, तर आइतबार राति पक्राउ परे। घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको थियो।










प्रतिक्रिया