सन्देश भुसाल, नेपालगन्ज : स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगबारे सचेतना फैलाउन जिल्लाका पत्रकारहरूसँग विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतना अभियानका रूपमा मनाउने सरकारको निर्देशन अनुसार स्वास्थ्य कार्यालय बाँकेले यो कार्यक्रम आयोजना गरेको हो।
Advertisement 1
नेपालगञ्जमा सम्पन्न कार्यक्रमका क्रममा जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले विश्वभर नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेको भन्दै यसले मानव समुदायमा गम्भीर असर पारिरहेको बताए। उनले पछिल्लो दशकमा नेपालमा दम, हृदयघात, पक्षघात, कलेजो, मानसिक समस्या र मृगौलासम्बन्धी रोगहरू बढिरहेको चर्चा गर्दै यस्ता रोगहरूबाट बच्न प्रत्येक व्यक्ति आफैं सचेत हुनुपर्नेमा जोड दिए।
Advertisement 2
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बढ्दो आधुनिकीकरण, शहरीकरण, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, सुर्तीजन्य पदार्थ तथा मदिराको अत्यधिक सेवन, वायु प्रदूषण जस्ता कारणले नसर्ने रोगको समस्या भयावह बन्दै गएको बताइन्। उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा, सर्वसुलभ उपचार, आर्थिक संरक्षण तथा स्वास्थ्य करमा वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन्।
Advertisement 3
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै नसर्ने रोगबारे समुदायस्तरमा सचेतना फैलाउन पत्रकारहरूले विशेष योगदान दिनुपर्ने बताए।
कार्यक्रमका क्रममा जनस्वास्थ्य अधिकृत श्रेष्ठले नसर्ने रोगको अवस्था, त्यसको रोकथामका उपाय तथा आवश्यक नीति निर्माणको आवश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। साथै, कार्यक्रममा सहभागी पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो।
स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय गर्दै आगामी दिनमा थप सचेतना तथा रोकथामका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।










प्रतिक्रिया