काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुट्न सक्ने जोखिम बढेको भन्दै चीनले उच्च सतर्कता अपनाएको छ।
Advertisement 1
चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालतर्फको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ‘ब्यारियर लेक’ मा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ।
Advertisement 2
तालबाट पानी बाहिरिन थाले पनि प्राकृतिक बाँध भत्किएर एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै तालको अवस्था निरन्तर निगरानी गर्नुका साथै बाढीको सम्भावित प्रभावबारे सिमुलेसन र जोखिम विश्लेषण भइरहेको छ। उद्धार तथा राहतका लागि आवश्यक तयारीसमेत अघि बढाइएको छ।
Advertisement 3
यसअघि तिब्बततर्फबाट आएको भीषण बाढीले नेपालतर्फ रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।
बाढीको प्रभाव चीनतर्फ पनि परेको छ। तिब्बतको केरुङ क्षेत्र प्रभावित भएपछि चिनियाँ जनमुक्ति सेना, उद्धारकर्मी तथा इन्जिनियरिङ टोलीसहित विभिन्न निकायलाई उद्धार तथा राहतमा परिचालन गरिएको जनाइएको छ।
प्राकृतिक बाँधका रूपमा बनेको तालमा पानीको मात्रा बढ्दै गएको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल र चीन दुवैतर्फका सम्बन्धित निकायले उच्च सतर्कता अपनाएका छन्।











