नेपालगञ्ज – सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पुर्याउन नेपालगञ्ज गएको एम्बुलेन्स नै दुर्घटना भएको भएको छ ।
भूपू सैनिकद्वारा सञ्चालित भे १ च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले नेपालगञ्ज खबरलाइ बताउनुभयो।
उनका अनुसार घाइतेलाई नेपालगञ्ज पुर्याएर फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएको पनि उनले बताए ।
घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका–७, का २५ वर्षीय विराजन शाही रहेका छन् ।
घाइते दुवैको अहिले भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो भने थप उपचारका लागि प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।











