Listen LIVE

नेपालगञ्ज । नागपञ्चमी पर्व आज सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी देशभर मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर तथा नागस्थान, नागपोखरी, कुण्डलगायत धार्मिकस्थलमा पूजा आराधना गरी यो पर्व मनाउने गर्छन्।

Advertisement 1

 

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो। धार्मिक मान्यताअनुसार नागको तस्वीर घरको मूलढोकामा टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायत जीवबाट दुःख नहुने र अग्नि, मेघ तथा चट्याङको भयबाट समेत सुरक्षा हुने विश्वास छ।

Advertisement 2

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार नाग पूजा गर्ने परम्परा वैदिककालदेखि नै चलिआएको मानिन्छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र पानीका लागि नागलाई खुसी पार्ने उद्देश्यले समेत पूजा गर्ने परम्परा बसेको बताइन्छ।

Advertisement 3

 

वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख रहेकाले पनि यस दिन नागपूजाका लागि विशेष मान्यता रहेको धार्मिक विश्वास छ। घरको जगमुनि नागको वास हुने र नाग रिसाएमा घरको जग नै कमजोर हुने मान्यताका कारण पनि नागपूजाको परम्परा निरन्तर रहँदै आएको छ।

 

हिन्दू धर्ममा नागलाई भगवान् शिव र विष्णुसँग समेत जोडेर हेर्ने गरिन्छ। भगवान् शिवले नागको माला धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई धार्मिक रूपमा विशेष सम्मान दिइन्छ। भगवान् गणेशको एक हातमा नाग रहेको तथा लक्ष्मण र बलरामलाई समेत शेषनागको अवतारका रूपमा मानिने धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

 

नागपञ्चमीसँग जोडिएका विभिन्न किंवदन्तीसमेत प्रचलित छन्। किसानले नागका बच्चा मारेपछि क्रोधित नागिनीले किसानको परिवारलाई क्षति पुर्‍याएको र किसानकी छोरीले नागिनीको पूजा तथा प्रार्थना गरेपछि परिवारलाई पुनर्जीवनको वरदान पाएको किंवदन्ती त्यसमध्ये प्रमुख मानिन्छ। यही घटनासँग जोडेर श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा सुरु भएको धार्मिक विश्वास पाइन्छ।

 

नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने परम्परा छ। नागको तस्वीर घरको मूलढोकामा टाँस्नुका साथै दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका सामग्री प्रसादका रूपमा चढाउने गरिन्छ।

 

यस दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई मार्न नहुने धार्मिक तथा सांस्कृतिक मान्यता पनि रहेको छ। काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थान, नागदह तथा कुण्डमा विशेष पूजाआजा हुने गर्दछ।

 

नागपञ्चमी पर्वसँगै हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको यामसमेत सुरु हुने मानिन्छ। त्यसैले नागपञ्चमीलाई धार्मिक आस्था, प्रकृति संरक्षण र सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!