Listen LIVE

जुम्ला : कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहरका रूपमा परिचित जुम्लामा आर्थिक गतिविधि विस्तार हुँदै गए पनि राजश्व संकलन भने अपेक्षाअनुसार बढ्न सकेको छैन। व्यापारिक सम्भावना बढ्दै जाँदा पनि आन्तरिक राजश्व कार्यालय जुम्लाले प्रत्येक वर्ष तोकिएको लक्ष्य पूरा गर्न नसकेको तथ्यांकले देखाएको छ।

Advertisement 1

 

आन्तरिक राजश्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जुम्ला, कालिकोट र मुगु गरी तीन जिल्लाका लागि ६४ करोड ४८ लाख ७४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो। तर असार मसान्तसम्म ४८ करोड १ लाख २२ हजार रुपैयाँ मात्रै संकलन भएको कार्यालय प्रमुख प्रभात घिमिरेले जानकारी दिए। यसरी लक्ष्यभन्दा करिब १६ करोड रुपैयाँ कम राजश्व उठेको हो।

Advertisement 2

 

संकलित राजश्वमध्ये आयकरबाट ३५ करोड ८१ लाख ५२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)बाट ९ करोड ८८ लाख ९ हजार रुपैयाँ, अन्तःशुल्कबाट ८८ लाख ५८ हजार रुपैयाँ र अन्य शीर्षकबाट १ करोड ४३ लाख ३ हजार रुपैयाँ संकलन भएको छ।

Advertisement 3

 

कार्यालयका अनुसार करदाता संख्या हरेक वर्ष बढ्दै गए पनि त्यसअनुसार राजश्व वृद्धि हुन नसक्नु चिन्ताको विषय बनेको छ। हाल तीन जिल्लामा १९ हजार ३९९ जना करदाता दर्ता छन्। तीमध्ये १७ हजार ८४ जना आयकर, १ हजार ७५० जना मूल्य अभिवृद्धि कर तथा ५६५ जना अन्तःशुल्कतर्फका करदाता रहेका छन्।

 

कार्यालयले करदाता शिक्षा, व्यवसाय दर्ता अभियान, बजार अनुगमन तथा निरीक्षणलाई प्राथमिकता दिए पनि लक्ष्यअनुसार राजश्व संकलन हुन नसकेको जनाएको छ।

 

किन घट्दै छ राजश्व ?

कार्यालयका अनुसार साना तथा उत्पादनमुखी उद्योग बन्द हुँदै जानु, व्यापारीले वास्तविक आम्दानी लुकाउनु, कर सचेतना प्रभावकारी नहुनु, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्त हुनु तथा अनुदानमुखी उद्योगहरूको संख्या धेरै हुनु राजश्व संकलन घट्नुका प्रमुख कारण हुन्।

 

जुम्लामा ठूला उद्योगको अभाव रहेको र धेरै उद्योग अनुदान प्राप्तिका लागि मात्रै दर्ता हुने तथा अनुदान सकिएपछि सञ्चालन बन्द गर्ने प्रवृत्तिले पनि राजश्वमा नकारात्मक असर परेको कार्यालयको निष्कर्ष छ।

 

पछिल्ला वर्षको राजश्व अवस्था

 

आर्थिक वर्ष २०८१/८२ मा ६३ करोड ७१ लाख ४ हजार रुपैयाँ लक्ष्य राखिएकोमा करिब ५० करोड रुपैयाँ मात्रै संकलन भएको थियो।

 

त्यसअघि २०८०/८१ मा लक्ष्यभन्दा करिब १३ करोड रुपैयाँ कम उठ्दै ४५ करोड ९९ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो।

 

आर्थिक वर्ष २०७९/८० मा ४७ करोड ५६ लाख ८५ हजार रुपैयाँ लक्ष्य रहेकोमा ४७ करोड २३ लाख १८ हजार रुपैयाँ उठेको थियो, जुन लक्ष्यभन्दा ३२ लाख ९० हजार रुपैयाँ कम हो।

 

यद्यपि कोरोना महामारीको समयमा भने अपेक्षाभन्दा राम्रो राजश्व संकलन भएको थियो। २०७६/७७ मा २३ करोड २२ लाख ५५ हजार रुपैयाँ, २०७७/७८ मा ३२ करोड ९६ लाख ३५ हजार रुपैयाँ तथा २०७८/७९ मा ४१ करोड २९ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको थियो, जुन सम्बन्धित वर्षका लक्ष्यभन्दा बढी थियो।

 

आर्थिक विकासमा असर

देशको आर्थिक विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना तथा सार्वजनिक सेवा प्रवाहका लागि कर राजश्व मुख्य आधार मानिन्छ। तर कर्णालीजस्तो आन्तरिक आय कमजोर भएको क्षेत्रमा लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा आर्थिक गतिविधि थप प्रभावित हुने र विकासका कार्यक्रम सञ्चालनमा चुनौती थपिने देखिएको छ। आन्तरिक राजश्व कार्यालयले करदातालाई करको दायरामा ल्याउने, कर सचेतना बढाउने तथा व्यवसाय दर्तालाई प्रभावकारी बनाउने अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!