नेपालगन्ज पोष्ट : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जानुहुने भएको छ। जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Advertisement 1
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नुहुनेछ। भ्रमण सम्पन्न गरी उहाँ माघ २१ गते दिउँसो ४ः३० बजे नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ मार्फत स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
Advertisement 2
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
Advertisement 3
सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच औपचारिक भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमण अवधिमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ।
राष्ट्रपति पौडेलको जापान भ्रमणमा उहाँकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया