नेपालगन्ज : गायिका एलिना चौहानलाई ठगी गर्ने र धम्की दिने व्यक्तिविरुद्ध हालसम्म कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।
Advertisement 1
एलिनाको म्यानेजर (व्यवस्थापक) हुँ भन्दै उनको पारिश्रमिक लिने दीपक बराइलीविरुद्ध उजुरी नपरेको प्रहरीले स्पष्ट पारेको छ । एलिनाले बराइलीले आफू उनको म्यानेजर हुँ भन्दै आयोजकसँग पैसा लिएर ठगी गरेको आरोप लगाएकी छन् ।
उजुरी नपरेसम्म आफूहरूले केही गर्न नमिल्ने नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । “यस विषयमा हामीसम्म कुनै उजुरी आएको छैन,” एसपी अवस्थीले भने, “उजुरी आएको अवस्थामा के भएको हो, हामी अनुसन्धान गर्नेछौँ ।”
Advertisement 2
आफू ठगीमा परेको र धम्की आएको विषय सार्वजनिक गर्दा पनि बराइलीलाई कसैले पक्राउ नगरेको एलिनाको गुनासो छ । आफूसँग समय नभएकाले प्रहरीकामा जान नपाएको उनले बताएकी छन् । अरूलाई पनि बराइलीले पटक–पटक ठगेको भनेर धेरैले बताए पनि प्रशासनले चासो नदेखाएको उनको भनाइ छ ।
“मैले भिडियो पोस्ट गरेपछि उहाँ (दीपक बराइली)का अरू पनि थुप्रै कर्तुतहरू आइरहेका छन्,” एलिना भन्छिन्, “तर, यति हुँदा पनि कसैले समात्न सक्दो रहेनछ ।”
Advertisement 3
प्रहरीले भने व्यक्ति–व्यक्तिका सामाजिक सञ्जालका घटना खोज्ने नगरिएको जनाएको छ । “उजुरी आएको खण्डमा छुट्टै कुरा हो, तर फेसबुकमा आएको र सुनेकै भरमा हामीले एक्सन लिन सक्दैनौँ,” प्रहरीका एक उच्च अधिकारीले भने, “राज्यसत्ताभित्रको कुरा भएको भए हामी अनुसन्धान गर्थ्यौँ । तर, यो व्यक्तिगत कुरा हो ।”
“बलेको आगो छौ, सबैले ताप्छन् । यसको लेखाजोखा त्यहाँ आएपछि हुन्छ । चाहे मलाई जेसुकै होस्, चाहे जेल पनि जाऊँला । जेसुकै भए पनि बहिनी, लाइफमा यतिचाहिँ यार गर्नू, यति कुराले तिम्रो लाइफमा ठूलो दुर्घटना हुन्छ,” बराइलीले एलिनालाई धम्की दिँदै भनेका छन्, “योचाहिँ ढुक्क हौ, यो लेखेरै राख । यो कहिले पनि डिलिट नहुने गरी सेभ गरेर राख । यो धम्की नसम्झिनू बैनी, यो सुझाव हो । एड्भाइस हो ।”
सुरुमा एलिनाले बराइलीले आफ्नो पारिश्रमिक लिएर ठगेको भन्दै त्यस्तो हुन सक्नेतर्फ कलाकारलाई भिडियोमार्फत सचेत गराएकी थिइन् । त्यसपछि बराइलीले धम्की दिएको अडियो एलिनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।










प्रतिक्रिया