नेपालगञ्ज पोष्ट : नेपाल–भारत सीमा नजिक रहेको जमुनाह नाकाको भारतीय बजार रुपैडिहामा माघ ४ गते (जनवरी १८) व्यापार मण्डल (नगर परिषद) को निर्वाचन हुने भएकाले सो दिन बजार पूर्ण रूपमा बन्द रहने भएको छ। स्थानीय पत्रकार सन्तोष शुक्लाका अनुसार निर्वाचनलाई मध्यनजर गर्दै व्यापारीहरूले बजार बन्द गर्ने निर्णय गरेका हुन्।
Advertisement 1

रुपैडिहा बजार भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बहाराईच जिल्लामा पर्छ र बाँकेको जमुनाह नाकासँग जोडिएको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित छ। निर्वाचन नजिकिँदै जाँदा बजार क्षेत्र अहिले विभिन्न ब्यानर, पोस्टर र प्रचार सामग्रीले सजिएको छ।
Advertisement 2
उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डल (नगर परिषद) रुपैडिहा इकाईको निर्वाचन जनवरी १८ अर्थात् माघ ४ गते हुने निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचनमा जम्मा ८३६ जना मतदाताले गोप्य मतदानमार्फत आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
Advertisement 3
निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना, महासचिव पदका लागि दुई जना र कोषाध्यक्ष पदका लागि दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, ११ जना कार्यकारी समिति सदस्य निर्वाचित हुनेछन्। कुल २२ जना व्यापारीहरूले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
गोप्य मतदान बजारको केन्द्रमा रहेको सिंह बजारमा हुनेछ। मण्डलका पूर्व महासचिव संजय बंसलका अनुसार निर्वाचनबारे उपजिल्ला मजिस्ट्रेट नानपारा मोनालिसा जोहरी तथा स्थानीय प्रहरी चौकीलाई समेत औपचारिक रूपमा जानकारी गराइसकिएको छ।
बंसलले मतदान बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जानकारी दिए। सोही दिन अपराह्न ४ बजेदेखि मतगणना सुरु गरिनेछ। निर्वाचन कार्यक्रममा उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डलका बहाराईच जिल्लाका अधिकारीहरूको समेत उपस्थिति रहने बताइएको छ।











