नेपालगन्ज । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने अवधिमा गरिने श्रीस्वस्थानी व्रत, माघ स्नान तथा स्वस्थानी कथा वाचन आजदेखि औपचारिक रूपमा सुरु भएको छ । वैदिक सनातन धर्मावलम्बीहरूले आजबाट घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा श्रवण गर्दै देवीदेवताको पूजा आराधना आरम्भ गरेका छन् ।
Advertisement 1
पौराणिक मान्यताअनुसार विभिन्न शक्तिपीठमा सतीदेवीका अङ्ग पतन भएपछि त्यहाँ देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्ने परम्परा रहिआएको छ । व्रत सुरु गर्नुअघि पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ ।
Advertisement 2
व्रत अवधिभर बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यमा आधारित स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ । कुल परम्पराअनुसार कतिपयले बिहान र कतिपयले साँझ कथावाचन गर्ने गर्दछन् ।
Advertisement 3
एक महिनासम्म विधिपूर्वक व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, दीप, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी अर्पण गरी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये अष्टोत्तर विधिअनुसार आठ–आठ सामग्री पति, छोरा वा मीत छोरालाई दिने र कोही नभए नजिकको पवित्र नदीमा प्रवाह गर्ने परम्परा छ । सय रोटी व्रतालुले फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य श्रवण गर्ने चलन पनि रहिआएको छ ।
श्रीस्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवी हुन् । उनका हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहेको वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
धार्मिक विश्वासअनुसार श्रीस्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने तथा मनोकामना पूरा हुने विश्वास छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न श्रीस्वस्थानी व्रत गरेकी थिइन् भन्ने कथा स्वस्थानीमा उल्लेख छ ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको व्रत विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देशका राजा बनेको कथा पनि स्वस्थानीमा वर्णित छ ।
यसै अवसरमा आजदेखि काठमाडौँ उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने साँखुस्थित शालिनदीमा एक महिना लामो माधवनारायण मेला पनि सुरु भएको छ । माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका कारण हरेक वर्ष देशका विभिन्न भाग तथा भारतबाट समेत लाखौँ भक्तजन यहाँ आउने गरेका छन् ।
शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको माधवनारायण मेलाका लागि सबै तयारी पूरा भइसकेको छ । माघ शुक्ल पूर्णिमासम्म चल्ने यस मेलामा स्नान, पूजा, दर्शन र स्वस्थानी व्रतसँग सम्बन्धित विभिन्न धार्मिक गतिविधि सञ्चालन हुनेछन् ।
तिथिका आधारमा मनाइने श्रीस्वस्थानी व्रत हरेक वर्ष फरक–फरक मितिमा पर्ने गर्दछ । यस वर्ष आजबाट सुरु भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । धार्मिक मान्यताअनुसार यस अवधिमा व्रत बस्दा र कथा श्रवण गर्दा धर्म, संयम, सत्य र भक्ति मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास गरिन्छ ।










प्रतिक्रिया