भारत ( बलरामपुर) : भारतको बलरामपुर–गोंडा मार्गस्थित फुलवरिया बाइपास चौराहामा सोमबार राति एक यात्रुबस र ऊनी कपडा बोकेको कन्टेनर ठोक्किँदा ठूलो दुर्घटना भएको छ। ठोक्किनासाथ दुवै सवारीमा आगलागी भई तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये दुई जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
Advertisement 1

पहिचान भएकी मृतक नेपालका गुल्मी निवासी ६० वर्षीया राधा (पति लालबहादुर) रहेको प्रहरीले जनाएको छ। अन्य दुई शव अत्यधिक जलेका कारण पहिचान कठिन बनेको छ। एक शव किशोरको र अर्को कन्टेनर ट्रकका क्लीनरको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले नेपाली यात्रु लगायत अन्य स्रोतमार्फत पहिचान गर्ने प्रयास जारी राखेको छ।
Advertisement 2

घाइते २४ मध्ये पाँच जनालाई मेडिकल कलेज बहराइच र एक जनालाई लखनऊ रेफर गरिएको छ। बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। बुटवलकी ऋचा योगीलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।
Advertisement 3
दुर्घटनापछि बस र कन्टेनरका चालक, सहचालक र क्लीनर फरार छन्। कन्टेनर चालकविरुद्ध कुल्लू, हिमाचल प्रदेश निवासी लोवसङको उजुरीमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ। प्रभारी निरीक्षक गिरजेश तिवारीका अनुसार पहिचान नभएका दुई शवबारे थप अनुसन्धान गरिरहेको छ।











