नेपालगन्ज, बाँके। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका–१३ का नवीन सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुनार २०८२ साल मंसिर ३ गते राति करिब पौने १० बजे भएको धारिलो हतियार (खुकुरी) प्रहारको घटनामा संलग्न भई फरार थिए। उक्त घटनामा सुरज गिरी लगायतका व्यक्तिहरूको समूहले एक व्यक्तिलाई गम्भीर घाइते बनाएको थियो।
जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सक्रियता बढाएको थियो। बाँके प्रहरीले दिएको जानकारी अनुसार, फरार रहेका नवीन सुनारलाई आज बिहान नियन्त्रणमा लिइएको हो।

पक्राउपछि सुनारमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य अहिले पनि जारी रहेको छ।











