नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा रहेका अव्यवस्थित बसपार्क हटाउने अभियान सुरु गरेको छ। नगरको ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले विभिन्न स्थानमा मनलाग्दी रूपमा सञ्चालन भइरहेका बसपार्क हटाएको हो।
Advertisement 1

नगर प्रहरीले आज धम्बोझी–खजुरा रोडस्थित, बर्दिया गुलरिया जाने सवारी साधन छुट्ने बसपार्क तथा पुष्पलाल चोक (वाटरपार्क) क्षेत्रबाट पूर्व–पश्चिमका विभिन्न जिल्लाका लागि सञ्चालन हुँदै आएका बसपार्क हटाएको जनाएको छ। उक्त कार्य नगर प्रहरीको नेतृत्वमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा गरिएको हो।
Advertisement 2
नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार नेपालगञ्ज–४ मा अत्याधुनिक बसपार्क हुँदाहुँदै पनि विभिन्न स्थानमा अव्यवस्थित रूपमा बसपार्क सञ्चालन हुँदै आएको पाइएपछि पूर्वसूचना दिई हटाउने कदम चालिएको हो। उनले यसअघि माइकिङमार्फत सम्बन्धित पक्षलाई जानकारी गराइएको पनि बताए।
Advertisement 3
उनका अनुसार अब उपमहानगरपालिकाले सवारी साधन सञ्चालनलाई व्यवस्थित बनाउन “एकद्वार प्रणाली” लागू गर्ने तयारी गरेको छ। विभिन्न स्थानमा छरिएर रहेका बसपार्कका कारण यात्रुहरूले सास्ती भोग्नुपर्ने, तानातान तथा अव्यवस्था बढ्ने समस्या देखिएकाले यस्तो निर्णय लिनुपरेको उनले स्पष्ट पारे।

यसैबीच, नगर प्रहरीले नेपालगञ्ज–१० अन्तर्गत गणेशमान चोकदेखि पश्चिम भृकुटीनगर क्षेत्रमा व्यवसाय दर्ता नगरी फुटपाथ अतिक्रमण गरेर सञ्चालन भइरहेका पसलहरू पनि हटाएको छ। नगर प्रहरी सहायक निरीक्षक पवनकुमार कनौजियाका अनुसार नेपाली तथा भारतीय व्यवसायीहरूले अनधिकृत रूपमा फुटपाथ प्रयोग गरेको पाइएपछि हटाइएको हो।
उनीहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको र आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाको यो कदमले नगरको ट्राफिक व्यवस्थापन सुधार हुनुका साथै सार्वजनिक स्थलहरू व्यवस्थित हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया