नेपालगञ्ज पोष्ट : भारतीय चलचित्रका सदाबहार अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ८८ वर्षीय धर्मेन्द्रलाई नोभेम्बर १० मा अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख रहेको छ।
Advertisement 1
शुरुवातमा भेन्टिलेटरमा राखिएका धर्मेन्द्रलाई स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको छ। चिकित्सकहरूले उनले चाँडै पूर्ण निको हुने विश्वास व्यक्त गरेका छन्। अभिनेता सनी देओलको टोलीले पनि धर्मेन्द्रको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुने जानकारी दिएको छ।
Advertisement 2
नोभेम्बर ११ मा सामाजिक सञ्जालमा धर्मेन्द्रको निधन भएको भ्रामक समाचार फैलिएपछि परिवारले ती खबरप्रति कडा आपत्ति जनायो।
Advertisement 3
उनकी छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्, “मिडियाले गलत खबर फैलाइरहेको छ। बुबाको अवस्था स्थिर छ र उहाँ निको हुँदै हुनुहुन्छ। कृपया हाम्रो परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला।”
पत्नी हेमा मालिनीले पनि यस्ता अफवाहलाई “गैर-जिम्मेवार र अपमानजनक” भन्दै भर्त्सना गरेकी छन्।
यो भ्रमका कारण भारतका रक्षामन्त्री राजनाथ सिंह र गीतकार जावेद अख्तरले समेत सुरुमा श्रद्धाञ्जली व्यक्त गरे पनि पछि ती पोस्ट हटाएका थिए।
धर्मेन्द्रको स्वास्थ्य बुझ्नका लागि उनका छोराहरू सनी देओल, बबी देओल, पत्नी हेमा मालिनी, र छोरी ईशा देओल अस्पताल पुगेका थिए। त्यस्तै, शाहरुख खान, सलमान खान र आमिर खान लगायत बलिउडका अन्य चर्चित कलाकारहरूले पनि अस्पतालमा पुगेर भेट गरेका छन्।
सात दशक लामो फिल्मी यात्रामा धर्मेन्द्रले भारतीय सिनेमालाई असंख्य अविस्मरणीय फिल्महरू दिएका छन्। हालै उनी ‘रकी और रानीकी प्रेम कहानी’ र ‘तेरी बातों में ऐसा उलझा जिया’ मा देखिएका थिए। उनको आगामी फिल्म ‘इक्कीस’ रिलिजको तयारीमा रहेको छ।
उनको केही चलचित्रको नाम रिलिज वर्ष
शोले (Sholay) १९७५
यादों की बारात (Yaadon Ki Baaraat) १९७३
सीता और गीता (Seeta Aur Geeta) १९७२
चुपके चुपके (Chupke Chupke) १९७५
धर्म वीर (Dharam Veer) १९७७
प्रतिज्ञा (Pratigya) १९७५
अहिले धर्मेन्द्रको स्वास्थ्य सुधारोन्मुख रहेको र उनले निकट भविष्यमा काममा फर्कने अपेक्षा गरिएको छ।








