नेपालगन्ज पोस्ट : असोज ३ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘जारी‑२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। उक्त २ मिनेट ३४ सेकेन्ड लामो टिजरले लिम्बु समुदायको सांस्कृतिक पहिचान, विशेषगरी ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा आधारित कथा उजागर गरेको छ।
Advertisement 1
टिजरको सुरुवातमा, च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो पहाड’ सँग तुलना गर्नु दर्शकको मुटुमा सिधा प्रभाव पार्छ। यसै संवादले ‘च्याब्रुङ’ लाई लिम्बुको खुशीको स्वरका रूपमा व्याख्या गर्दै, फिल्मको कथावस्तु सांस्कृतिक पहिचान, सामाजिक र पारिवारिक उतार–चढावमा केन्द्रित रहेको स्पष्ट हुन्छ।
लेखन तथा निर्देशन कवी उपेन्द्र सुब्बा ले गरेका हुन्। निर्माता टोलीमा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ रहेका छन्। प्रमुख भूमिकामा दयाहाङ राई, मिरुना मगर, तथा विजय बराल छन्। अन्य अभिनेताहरूमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, र सिर्जना निङ्लेखुको सहभागिता छ।
Advertisement 2
यो फिल्म बाँसुरी फिल्म्स र कबड्डी फिल्म्स ब्यानरमा निर्माण भएको छ। पहिलो भाग ‘जारी’ (२०७८) ले बक्स अफिसमा १७ करोडभन्दा बढी व्यापार गरेको ब्लकबस्टर सफलता हात पारेको थियो, जसको प्रभाव यो सिक्वेलमा पनि देखिने अपेक्षा गरिएको छ।









