
नेपालगञ्ज पोष्ट : बाँके जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले विकास खर्च बढेको छ।
Advertisement 1
कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपैयाँ विकास खर्च भएकोमा गत आव २०८१/८२ मा यो खर्च बढेर आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ पुगेको छ।
Advertisement 2
बाँकेमा सबैभन्दा बढी विकास खर्च गर्ने कार्यालयहरूमा हुलाकी सडक आयोजना, पुल योजना पश्चिम सेक्टर, सिक्टा सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, संघीय योजना कार्यान्वयन एकाइ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय परेका छन्। यी कार्यालयहरूले मात्रै आठ अर्ब ६० करोड सात लाख ५० हजार रुपैयाँ बजेट प्राप्त गरेका थिए, जसमा सात अर्ब ३८ करोड १७ लाख ३३ हजार रुपैयाँ खर्च भएको हो।
Advertisement 3
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आव २०८१/८२ मा बाँके जिल्लाको कुल चालु र पुँजीगत बजेट खर्च ९०.२० प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको ९१.३७ प्रतिशतभन्दा केही कम हो।
गत आवमा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कुल २२ अर्ब पाँच करोड ५० लाख नौ हजार ७४१ रुपैयाँ विनियोजन गरेकोमा १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २९८ रुपैयाँ खर्च भएको छ।
त्यसमध्ये, पुँजीगततर्फ विनियोजन गरिएको नौ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५०० रुपैयाँमध्ये आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ खर्च भएको छ भने चालुतर्फ विनियोजन गरिएको १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २४१ रुपैयाँमध्ये ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९३७ रुपैयाँ खर्च भएको छ।
सन् २०२३/२४ अर्थात् आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले विनियोजन गरेको १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४२६ रुपैयाँमध्ये १६ अर्ब ६७ करोड ३३ लाख ३६ हजार १० रुपैयाँ खर्च गरिएको थियो।