चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीलाई

नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा सम्पन्न चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीले जितेको छ।

खजुरारोडस्थित होटल पौवामा शनिवार सम्पन्न प्रतियोगितामा जिल्लाभरका ४० विद्यालयको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक प्रस्तुतिबीच युनाइटेड एजुकेसन एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको हो। उपाधिसँगै विद्यालयले ५० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसैगरी जनसेवा (जेएस) सेकेन्डरी स्कुलले द्वितीय स्थान हासिल गर्दै २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ भने जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय हुँदै १५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र हात पारेको छ। रामजानकी माध्यमिक विद्यालय, स्प्रिङ डेल एकेडेमी र नेपालगञ्ज सेन्ट जेभियर्स सान्तवना भएका छन्। सान्तवना हुने विद्यालयहरूले जनही ५ हजार ५५० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा विजयी विद्यालयहरूलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाइँ, विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य एकनारायण पौडेल लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए।

 

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौलागाइँले यस्ता प्रतियोगिताले विद्यार्थीमा रहेको अतिरिक्त प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालयहरूले किताबी ज्ञानसँगै विद्यार्थीको अन्तर्निहित क्षमता पहिचान र विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।

 

कार्यक्रममा चर्चित मोडेल तथा नायिका अञ्जली अधिकारी र स्मृति तिमिल्सेनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम संयोजक कमलेश शाहका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, सृजनशीलता र प्रस्तुति क्षमताको विकासमा सकारात्मक प्रभाव पारेको छ।

 

error: Content is protected !!